aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बालेनपछि वीरगञ्ज महानगरका मेयरको एक्सनः २६ बिघाबढी अतिक्रमित जग्गा नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असार २०८०
बालेनपछि वीरगञ्ज महानगरका मेयरको एक्सनः २६ बिघाबढी अतिक्रमित जग्गा नियन्त्रणमा

वीरगञ्ज । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने कार्यलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । महानगरले आदर्शनगरस्थित राष्ट्रिय वाणिज्य बैंकको पर्खाल भत्काएको छ । 

सार्वजनिक जग्गामा बैंकले निर्माण गरेको २३ फिट अग्लो पर्खाल हटाउन पटक–पटक आग्रह गर्दासमेत बेवास्ता गर्दै आएकाले पर्खाल भत्काइएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए । लामो समयदेखि बैंकले उक्त जग्गा खाली गर्ने प्रतिवद्धता व्यक्त गरे पनि पर्खाल नहटाएपछि नगरप्रमुख राजेशमाज सिंहको निर्देशनमा उक्त स्थानमा डोजर चलाइएको उनले बताए । 

पालिकाका विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेपछि महानगरले अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । प्रमुख मियाँका अनुसार महानगर क्षेत्रभित्रका पोखरी, पार्क, मठ मन्दिरलगायत क्षेत्रका सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक संरचना बनाउनुका साथै खेतबारीका रुपमा उपभोग गर्दै आएका छन् । “यसरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै महानगरपालिकाले वर्षौँदेखि अतिक्रमणमा परेका सार्वजनिक जग्गा खोज्ने अभियानलाई तीव्रता दिएको छ”, उनले भने ।

अतिक्रमित जग्गा खोज्न, नापचाँज गर्न तथा सार्वजनिक र निजी छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली परिचालन गरेको मियाँले जानकारी दिए । “महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रुपमा प्रयोग गर्दै आएका छन्”, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भने, “पहिलो चरणमा प्राविधिक टोलीले वडा नं १७ र १९ मा खोज्ने र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउने काम गरिरहेका छन् ।” उनका अनुसार दुई सातादेखि सुरु गरिएको उक्त अभियानमा हालसम्म २६ बिघा भन्दा बढी अतिक्रमित सार्वजनिक जग्गा महानगरले नियन्त्रणमा लिएको छ । 

“छोटो समयमा नै थुप्रै अतिक्रमित जग्गा फिर्ता गराउन हामी सफल भएका छौँ”, नगर प्रमुख सिंहले भने, “यस अभियानमा हामी शान्तिपूर्ण तरीकाले लागिरहेका छौँ र सबैले समन्वय पनि गरिरहनुभएको छ ।” सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनका लागि प्रयोग गर्दै आएको खोजी गर्न महानगरको टोली नक्सा लिएर सम्भावित स्थानमा जान थालेपछि स्थानीयले सहयोग गरिरहेका उनको भनाइ थियो । 

टोलीले वडा नं १७ र १९ को सीमामा पर्ने कोनियाँ गाउँमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी खेती गर्दै आएको पाँच बिघा जग्गा नियन्त्रणमा लिएको महानगर सचिवालयका हरि पोखरेलले जानकारी दिए । उनले पहिलो चरणमा दुई वटा वडाबाट अभियान सञ्चालन गरिएको भन्दै ‘अतिक्रमित जग्गा खोजी अभियान’ क्रमशः ३२ वटै वडामा सञ्चालन गरिने बताए । “नियन्त्रणमा लिइएको अतिक्रमित सार्वजनिक जग्गा महानगरले नक्शाङ्कन गरिरहेको छ”, उनले भने।

“अतिक्रमित जग्गा खोज्ने अभियानका क्रममा केही दिनअघि महानगरपालिकाको आर्दशनगरस्थित चिल्ड्रेन पार्कको जग्गा स्थानीयले अतिक्रमण गरेको पाइएको थियो । उक्त स्थानमा निर्माण गरिएका केही संरचना महानगरले यसअघि नै भत्काएको छ भने बाँकी संरचना हटाउन सूचना दिइएको छ”, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भने। बाँकी संरचना सूचनाका आधारमा खाली नगरे डोजर चलाइने उनको भनाइ थियो ।

अन्य स्थानमा पनि जग्गा अतिक्रमण गरिएको हुनसक्ने भएकाले खोजी गर्न प्राविधिकको समूह खटाएर परिचालन गरिएको बताउँदै अतिक्रमित जग्गा पाइएमा घेरा गरी संरक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन नापजाँच गरी डोजर लगाएर सीमा छुट्याउने काम भइरहेको उनले बताए ।

महानगरसँग अहिले आफ्नो क्षेत्रमा कहाँ र कति सार्वजनिक जग्गा छ भन्ने वास्तविक तथ्याङ्क नहुँदा खोजी कार्यमा कठिनाइ भइरहेको भन्दै यस अभियानलाई सफल बनाउन महानगरको टोली दैनिक स्थालगत खोजीमा खटिएको पौडेलले बताए । “हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न खोजी अभियान अघि बढाइएको हो”, उनले भने।

प्रतिक्रिया दिनुहोस