नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिन्छ । तर, यस वर्ष भने एक दिन ढिला गरी अर्थात् जुन १४ मा मनसुन भित्रियो । मनसुनको अवधिमा मुलुकमा विभिन्न विपद्का घटनाहरू हुने गर्छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको व्यवस्था गरेको छ । यस प्राधिकरणले नदी नियन्त्रण, बाढी, पहिरो, भूकम्प, भू–मण्डलीय तापमान वृद्धि, जलवायु परिवर्तन, भू–उपयोग र विभिन्न प्रकोप तथा विपद्का सम्भावित कारक र न्यूनीकरणका उपायको विषयमा अध्ययन अनुसन्धान गर्छ ।
यससँगै प्रदेश तथा स्थानीय तहलाई विपद् व्यवस्थापन सम्बन्धी आवधिक योजना निर्माण गर्न आवश्यकता अनुसार आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने/खोज तथा उद्धार समूहको गठन तथा क्षमता विकास गरी प्रभाकारी खोज, उद्धार तथा राहत प्रदान गर्ने/गराउने लगायत कार्यहरू पनि प्राधिकरणले गर्दै आएको छ । यस वर्षको मनसुनजन्य घटना न्यूनीकरण, खोज, उद्धार र राहत लगायत विषयमा प्राधिकरणले के के गरिरहेको छ भन्ने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण उपसचिव तथा प्रवक्ता ध्रुव बहादुर खड्कासँग आर्थिक न्युजकी रिता राउतले कुराकानी गरेकी छिन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:
अहिले नेपालमा मनसुन चलिरहेको छ, यस वर्षको मनसुनजन्य गतिविधिबारे प्राधिकरणले के के गरिरहेको छ ?
यस वर्ष नेपालमा एक दिन ढिला गरी अर्थात् जुन १४ मा मनसुन भित्रियो । औषतमा एक सय १२ दिन मनसुन रहने गर्छ । तर, कहिलेकाहीँ केही ढिला भएर करिब चार महिनासम्म रहेको विगतको अनुभव छ ।
बाढी पहिरो डुबानले हाम्रो मुख्य पर्व दशैं तिहार मुखमा पुग्दासम्म नेपालीहरूलाई थिलथिलो बनाएको हुन्छ । यो अवस्था नआओस भनेर विगतदेखि नै हामीले कोशिस गरिरहेका छौँ । प्राकृतिक विपत्तीहरुमाथी विजय प्राप्त गर्ने र त्यसलाई नियन्त्रण गरेर हामी सुखी हुन खोज्ने हुनाले यो निकै कठिन र चुनौतीपूर्ण काम हो । कठिन काम हो भनेर जान्दाजान्दै हामीले सुख र समृद्ध हुने कोसिस गरिरहेका छौँ । त्यसै अनुसार मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाएका छौँ ।
मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजनामा के के समेटिएको छ ?
योजना भन्ने बित्तिकै ठूलो हुन्छ भन्ने धेरैले बुझेका हुन्छन् । मनसुन आएपछि त्यसबाट हुने क्षतिलाई कम गर्ने र खोज, उद्धार र राहतलाई कसरी व्यवस्थित गर्ने भन्ने कुराको मात्रै योजना हुन्छ यसमा । यो योजना व्यवहारिक र सुदृढ बनाएका छौँ ।
गत वर्षसम्म विपद् प्रतिकार्यका लागि खटिने १४ सय जना मात्रै जनशक्ति रहेको थियो । यो वर्ष ११ हजार ६ सय भन्दा बढी जनशक्ति तयार छन् । विगतमा रित्तो हात जनशक्ति फिल्डमा पुग्नु पर्ने बाध्यता रहेको थियो । तर, अहिले हामीले कम्तीमा आफूलाई चाहिने न्यूनतम साधनहरू पनि सबै जिल्लामा पुर्याइएको छ । जिल्लाको जनशक्तिले धानेन भने प्रदेशकाले हेर्छन् भने राष्ट्रिय विपत्ति नै आयो भने केन्द्रका जनशक्ति खटाउन सकिने व्यवस्था मिलाएका छौँ । त्यो पनि साधन र स्रोतसहित तालिमप्राप्त तयारी अवस्थामा जनशक्ति छन् ।
यो वर्षको लागि त्यति प्रभावकारी नभए पनि आगामी वर्षहरूका लागि प्रभावकारी हुने अन्य दुई वटा काम पनि गरेका छौँ । भोलुन्टरहरु पनि यहाँ खटिनु हुन्छ । उनीहरूको लागि पनि भिएमएस भनेर वेब बेस पोर्टल सञ्चालनमा ल्याएका छौँ । रेडक्रसले उत्पादन गरेका एक लाख चार हजार भन्दा बढी स्वयमसेवकहरु त्यहाँ दर्ता हुनु भएको छ । त्यो बाहेक अन्य स्वयमसेवकहरु पनि दर्ता हुनु भएको छ । कुन काम कसले कसरी गर्ने भन्ने प्रबन्ध मिलाउनका लागि हामीले स्वयंसेवक सञ्चालन ब्युरो गठन गर्ने कार्यविधि ल्याएका छौँ ।
त्यस्तै, गोदाम भन्ने वेब पोर्टल पनि हामीले व्यवहारमा ल्याएका छौँ । गोदाममा हाम्रामा खोज उद्धारमा जाने मानिसहरूले आवश्यक पर्ने सामाग्रीहरू राखिएको हुन्छ । यसो गर्दा कहाँ छ, कसको जिम्मा छ, कस्तो अवस्थामा छ भन्ने जस्ता कुरा सबै जानकारी राखिन्छ । यसबारे अनलाइनमै पनि भर्न र हेर्न मिल्छ । अनलाइनमा नै हेरेर आवश्यक परेको सामाग्रीहरू मगाउन सकिन्छ । यसको सुरुवात पनि यस वर्षदेखि नै गरिएको हो ।
जल तथा मौसम पूर्वानुमान विभागले विभिन्न ठाउँमा जल मापन गर्ने यन्त्रहरू राखेको छ । कहाँ कति पानी छ र जोखिम कति छ भनेर त्यसकै आधारमा हामीले एमएमएस पठाउने गरेका थियौँ । कतिपय ठाउँमा जोखिम भयो भन्ने बित्तिकै हाते साइरनहरू राख्ने गरिएको थियो । यसलाई स्तरोन्नति गरेर स्मार्ट साइरन राखिएको छ ।
६ वटा जिल्लाका ३४ स्थानमा हामीले स्थापना गरेका छौँ । सप्तरी, रौतहट, बारा हुँदै बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका ३४ स्थानमा विगतदेखिको इतिहास हेरेर स्मार्ट साइरन जडान गरिएको छ । त्यो साइरनमा रेडियोमा बोले जसरी बोलेर पानीको सतह यति पुग्यो अब केही बेरमा यति पुग्छ र त्यो ठाउँ छोडेर अन्यन्त्र जानु भनेर जानकारी दिन सकिन्छ । यसको आवाज दुई किलोमिटरको वरिपरि सुनिन्छ । यो ३४ ठाउँ पर्याप्त होइन, सुरुवात मात्रै हो । आगामी दिनमा यसको कार्य बढाउँदै लैजाने योजना छ । यहाँ मैले मुख्य मुख्य मात्रै भने यी बाहेक अन्य काम पनि गरिरहेका छौँ ।
कति रकम जोहो गर्नु भएको छ ?
योजनाको बजेटको कुरा नगरेको राम्रो होला । गत वर्ष वैदेशिक ऋण सहायताको रकम यसमा थियो, ऋण सहायतालाई यसमा प्रयोग नगरौँ भन्ने कुरा रह्यो । राष्ट्रिय आर्थिक अवस्था पनि सुदृढ छैन । सबै क्षेत्रमा खर्च कटौती गरिने कुरा छ । यसले गर्दा यो क्षेत्रमा धेरै लगानी गरिएको छैन । विभिन्न संघ संस्थाहरूमा पैसा होइन जनशक्ति सहयोगमा लिएर काम गर्ने गरिरहेका छौँ ।
पैसा अभावका कारण राहत रकम पाइएन भन्ने गुनासो आउने स्थिति छैन । कोषमा पर्याप्त पैसा छ ।
प्राधिकरणको एउटा विपद् कोष रहेको छ । यसमा प्रधानमन्त्री प्राकृतिक कोष भनेर एउटा छ । प्रदेश र स्थानीय तहहरूमा पनि कोष छ । प्रधानमन्त्री प्राकृतिक कोषमा रहेको रकम राष्ट्रियस्तरको विपद्को समयमा प्रयोग गरिन्छ । सबै कोषको गरेर जम्मा ६ अर्ब रुपैयाँ रहेको छ । पैसा अभावका कारण राहत रकम पाइएन भन्ने गुनासो आउने स्थिति छैन । कोषमा पर्याप्त पैसा छ ।
पछिल्ला घटनाक्रम हेर्दा हाम्रोमा मनसुनजन्य विपद्का घटना हामीले आँकलन गरेका भन्दा फरक फरक भएका हुन् ?
केही वर्षका घटनाक्रम हेर्यो भने केही अनौठो, अस्वभाविक लाग्ने कुराहरू भएका छन् । २०७८ सालमा मनसुन सकियो भनिसकेपछि पनि झरी पर्यो । त्यसलाई हामीले लेट मनसुन भन्यौँ । त्यसले सुदूर पूर्व र सुदूर पश्चिममा ठूलो क्षति पुर्यायो । त्यो केही अनौठो नै थियो । मेलम्चीको बाढी जेठका दिनमा आउनु अस्वभाविक नै थियो भने केही दिन अघि मनसुन शुरु हुनुभन्दा पहिला नै हुम्लामा मेलम्चीको जसरी नै पहिरो गयो ।
केही वर्षअघि आएको सेती नदिमा आएको बाढी पनि अस्वभाविक नै हो । यस्ता अस्वभाविक घटनाहरू पनि भइरहेका छन् । जुन हामीले आँकलन गरेको भन्दा फरक छन् । अर्को तापमानका कुरा पनि अस्वभाविक नै छ । त्यसैले विपद्को प्रवृत्तिमा पनि फरकपन आएको पाइएको छ ।
विज्ञहरूले जनाए अनुसार जलवायु परिवर्तनको असरले अन्ततः विपद् नै ल्याउने हो । अघि भनिएका जुन विपद्हरू छन् त्यसमा जलवायु परिवर्तनको असर छ । त्यो असरको परिणाम यी ढङ्गका विपत्तिहरू हुन् ।
यस वर्ष मनसुनजन्य विपद्बाट सबैभन्दा बढी जोखिममा पर्ने ठाउँ र कति मानिसहरू प्रभावित हुने आँकलन गर्नु भएको छ ?
भोली विपद्बाट कहाँ कस्तो प्रभाव पार्ला भनेर आँकलन गर्न विगत ३० वर्षको घटनाक्रम हेर्नु पर्ने रहेछ । यो अवधिको तथ्याङ्कलाई केलायर हेर्दा अनि भोलीका दिनमा हुनसक्ने सम्भावना निकाल्न सकिने रहेछ । तर, हाम्रोमा २०६८ साल भन्दा पहिलेका तथ्यांक राख्ने प्रणाली नै छैन । यो १२ वर्षको तथ्यांकले त्यति धेरै विश्वासनिय अनुमान नहुने सक्छ । तर, हामीले ठाउँ नै तोकेर जोखिम छ भन्न सकेका छैनौँ । तथापि ५२ वटा स्थानीय तहहरू जोखिममा रहेका छन् भनेर आँकलन गरेका छौँ ।
कोशी प्रदेशमा तीन लाख एक हजार एक सय ४३ जनसंख्या र ६८ हजार ९ सय ११ घरपरिवार यस वर्षको मनसुनबाट प्रभावित हुने आँकलन गरेका छौँ । सबैभन्दा बढी मधेश प्रदेशका जनसंख्या प्रभावित हुन सक्छन् । जहाँ चार लाख तीन हजार जना व्यक्ति तथा ९२ हजार घरपरिवार प्रभावित हुन सक्ने अनुमान छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ३५ हजार व्यक्ति र ८ हजार घरपरिवार प्रभावित हुन सक्छन् ।
दुर्घटनामा पर्दा हामीले ट्राफिक प्रहरीलाई सम्पर्क गरेजस्तै बाढी परेकाहरूमा परेकाहरूले कसलाई भन्ने त ?
कोही व्यक्ति बाढी पहिरोको समस्यामा पर्न लाग्यो भने ११५५ नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ । यसका लागि २४ सैं घण्टा जनशक्ति खटिएका छन् ।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
विपद् बाजा बजाएर आउँदैन । तर, विपद्को अनुमान हामीले गर्न थालेका छौँ । तीन दिनको मौसम पूर्वानुमान गरेका हुन्छौं । त्यो सुनेर हेरेर जोखिमबाट जोखिमबाट जोगिन सकिन्छ । विपद्मा नपर्नु स्वयमको कर्तव्य पनि हो । विपद्बाट जोगाउनका लागि स्थानीय तह, प्रदेश, संघीय सरकार र प्राधिकरण सबैले तयारी गरेको छ । सबैलाई चनाखो बन्न अनुरोध गर्दछु ।
प्रतिक्रिया दिनुहोस