aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दुग्ध उत्पादक किसानलाई नगरपालिकाको अनुदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असार २०८०
दुग्ध उत्पादक किसानलाई नगरपालिकाको अनुदान

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ । 

नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो । 

नगरपालिकाले किसानलाई उत्पादनका आधारमा २६ लाख २० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । किसानलाई पालिकाले प्रतिलिटर डेढ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको कावासोती नगरपालिका पशु विकास शाखाका प्रमुख डा। टेकराज पौडेलले बताए ।

चालू आर्थिक वर्ष २०७९/८० मा पालिकाभित्रका ४ सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराएको हो । यस वर्ष ४ सहकारीमार्फत संकलित १७ लाख ४७ हजार २०० लिटर दूधका लागि अनुदान उपलब्ध गराएको उनले बताए । नगरपालिकाले सहकारीलाई चेक हस्तान्तरण गरेको छ ।

कावासोती–२ को शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी, कावासोती–८ को एकीकृत दुग्ध विकास सहकारी, कावासोती–१४ को साना किसान कृषि सहकारी र कावासोती–१७ को जनकल्याण दुग्ध विकास सहकारीमार्फत संकलित दूधका लागि अनुदान प्रदान गरिएको हो । कावासोती नगरपालिकाले ४ वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ । ४ वर्षको अवधिमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई १ करोड १६ लाख अनुदान उपलब्ध गराएको छ ।

नगरपालिकाले पहिलो वर्ष प्रतिलिटर एक रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।

नगर प्रमुख विष्णुप्रसाद भुसालले अनुदानबाट किसानलाई उत्पादनमा जोड दिन मद्दत पुग्ने बताए । आगामी आव २०८०/८१ मा दूधको अनुदान रकम वृद्धि गरिने उनले बताए । किसानलाई उत्पादन लागत घटाउन, थप अनुदान, आवश्यक सहयोगसहित बजारीकरण सहज बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ । 

‘दूध प्रशोधन केन्द्र स्थापना गर्ने नगरको नीति तथा कार्यक्रममा समेत समेटेका छौं,’ नगर प्रमुख भुसालले भने । पशुपालक किसानलाई दानामा धेरै लागत पर्दै आएकामा आगामी दिनमा पशु आहारा उत्पादन गर्ने गरी साइलेज उद्योग स्थापना गर्ने योजना रहेको उनको भनाइ छ । चालू आवमा उत्पादनका आधारमा दूधमा उपलब्ध गराएको अनुदानबाट करीब ८५० किसान लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस