aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि.....

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असार २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि.....

काठमाडौं । दोहोरो नागरिकताको आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाकी किस्मती चन्द र गम्भीर चन्द रहेका छन् ।  किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजुरीको आरोपमा गम्भीरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  बैतडीबाट लिएको पहिलो नागरिकतामा नाम किस्मतीदेवी चन्द, नाप्रन ७३३०१३र४३४, जारी मिति २०६३र१०र८ बैतडी, जन्ममिति २०४६र५र२५ र पतिको नाम वीरेन्द्र चन्द उल्लेख गरिएको छ । 

यसैगरी कञ्चपुरबाट लिएको दोस्रो नागरिकतामा नाम कलावती चन्द, जन्म मिति २०३९र११र१०, नाप्रन ७५१००१र१३१२६, जारी मिति २०६७र४र२० कञ्चनपुर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भीमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरिएको छ ।  दोस्रो विवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जबर्जस्ती पुरानै श्रीमतीको विवरण राखेर नागरिकता बनाएको खुल्न आएको छ । गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमतीका रूपमा किस्मतीलाई भित्र्याएको र पहिलाकै श्रीमती कलावतीको नामबाटै किस्मतीको कञ्चनपुरबाट नयाँ नागरिकता बनाएका हुन् । 

ती कलावतीलाई दैनिक कुटपिट गर्ने गरेको र चार छोरा आफैँसँग राखेर घर निकाला गरेका हुन् । अहिले दोहोरो नागरिकता लिने र लिन बाध्य पार्ने दुवै जनामाथि अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनले भने, “दुवैजनालाई पक्राउ गर्न भनेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खबर आएको र त्यसपछि हामीले उनीहरूको खोजतलास गरेका थियौँ । अहिले उनीहरू कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका छन् ।”

बैतडीको भन्दा कञ्चनपुरको नागरिकतामा सात वर्ष उमेर बढाएर बनाएको पाइएको र निजको नाम र श्रीमान्को नाम पनि फरक रहेकाले प्रहरीले मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस