
काठमाडौं । मङ्गलवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)र लड बुद्ध एजुकेसन फाउन्डेसनको संयुक्त आयोजनामा राजधानीको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडिज कलेजमा साइबर सेक्युरेटी तथा साइबर कानुन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिममा पत्रकारको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले अपराध अनुसन्धान महाशाखाका एस एस पी नबिन्द अर्याल र पाटन कलेजका डिन अजय शर्माले करिब ३० जना पत्रकारलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा एसएसपी अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबर कानुनको बारेमा जानकारी दिएका थिए । उनले विश्वका विभिन्न देशमा भएका साइबर कानुन सम्बन्धी घटनाको बारे चर्चा गर्दै साइबर अपराध हुने कारण र यसबाट जोगिने उपायहरू बताएका थिए । उनले नेपालमा हुने अपराधको करिब ६० प्रतिशत अपराध इन्टरनेटको दुरुपयोगबाट हुने गरेको जानकारी दिए ।
त्यस्तै पाटन कलेजका डिन अजय शर्माले तालिममा उपस्थित पत्रकारहरूलाई साइबर सेक्युरेटीबारे प्रशिक्षण दिँदै सामाजिक सञ्जालमा अनधिकृत प्रवेश (ह्याक) कसरी गर्छन ? यसलाई कसरी रोक्न सकिन्छ ? साथै इमेलमा आक्रमण हुनुका कारण र त्यसबाट कसरी जोगिने भन्ने विषयमा तालिम दिएका थिए । कम्प्युटर तथा मोबाइलमा भाइरसले आक्रमण कसरी गर्छ र समाधान कसरी गर्ने ? लगायतका विषयमा उनले जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई..पङ्कज जलान र लर्ड बुद्धका निर्देशक प्रकाशकुमार केजरिवालले नाफिजसँगको समन्वयमा यस्ता तालिम भइरहे साइबर कानुन, साइबर अपराध लगायतका विषयमा पत्रकारहरु मार्फत इन्टरनेट प्रयोगकर्तामाफ सावधानी अपनाउन सहज हुने भनाइ राखेका थिए । साइबार अपराध अहिलेको विश्वमा प्रमुख समस्याका रुपमा आइरहेकाले हामी सबैं यसमा चनाखो हुनपर्ने समेत फाउन्डेसनका अध्यक्ष र्इ.पङ्कज जलानले बताए । उनले नेपालमा हुने साइबर अपराधका गतिविधिहरूलाई सूक्ष्म रूपमा अध्ययन गरेर जनताहरूलाई सत्यतथ्य समाचार सम्प्रेषण हुनेमा विश्वस्त रहेको बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नाफिजका अध्यक्ष सीताराम भट्टराईले साइबर सुरक्षा तथा अपराधका विभिन्न पक्षहरूको बारेमा सूक्ष्म रूपमा पत्रकारलाई प्रशिक्षितको अवसर दिएकोमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनलाई धन्यवाद दिएका थिए । साथै उनले सूचनाप्रविधिसँग सम्बन्धीय तालिमहरुमा आगामि दिनमा समेत सहकार्य गर्न नाफिज सधै तयार रहेको जानकारी समेत गराएका थिए ।
प्रतिक्रिया दिनुहोस