काठमाडौँ । आज असारको २२ गते भइसक्यो तर मुलुकभर हालसम्म करिब २७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएको थियो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
मन्त्रालयले प्रदेशसँगको समन्वयमा तयार गरेको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए । विशेष गरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको मन्त्रालयको ठहर छ ।
अहिलेसम्म अपेक्षाकृत कम रोपाइँ भए पनि आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया दिनुहोस