aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

चंखेली गाउँपालिकाका कार्यकारी अधिकृत र वडाध्यक्ष सहित ८ जना विरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असार २०८०
चंखेली गाउँपालिकाका कार्यकारी अधिकृत र वडाध्यक्ष सहित ८ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णु बहादुर शाही सहित ८ जना बिरुद्ध भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।  मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रकम विनियोजन भई उपभोक्ता समितिलाई कामको जिम्मा दिएको वडा नम्बर २ स्थित खानेपानीको ट्याङ्की निर्माणको क्रममा उनीहरूले अनियमितता गरेको आरोप अख्तियारले लगाएको हो ।

शाहीले आर्थिक वर्ष २०७८/०७९ मा आधा काम बाँकी हुँदै ट्याङ्की निर्माणको काम सकियो भनी फर्जी विल भरपाई पेश गरी सम्पूर्ण रकम निकासा लिई हिनामिना गरेको भन्ने निष्कर्षमा अख्तियार पुगेको छ । देवकोटाबाडास्थित खानेपानी ट्याङ्की निर्माण समेतका कार्यमा काम नै नगरी नभए नगरेको कामलाई भए गरेको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीको लागि स्वीकृत गरी, फिल्डमा

नभए नगरेको कामसमेतको भुक्तानी दिई  उनले ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । सो कार्यमा पालिकाका इन्जिनियर मान बहादुर ऐडी र प्राविधिक सहायक (सवइन्जिनियर) गोबर्धन बोहोराको समेत संलग्नता रहेको देखिएको छ ।

सोही घटनामा लेखापाल नवीन रेग्मीले उक्त खानेपानी निर्माण तथा मर्मत योजनाको भुक्तानी दिँदा गाउँपालिका र उपभोक्ताबिच भएको सम्झौता, भुक्तानीका लागि सम्बन्धित उपभोक्ता समितिको निवेदन, वडाको सिफारिस, प्राविधिक मूल्याङ्कन प्रतिवेदन, बिल भरपाई तथा अन्य आवश्यक कागजातहरू प्राप्त भई सकेपछि सम्पूर्ण कागजातहरू चेकजाँच गरी भुक्तानी दिनुपर्नेमा सो नगरी झुट्टा बिल भरपाईको आधारमा भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष छ ।

चंखेली गाउँपालिका वडा नं.२ का तत्कालीन वडा अध्यक्ष हरिहर उपाध्यायले सरकारलाई हानि नोक्सानी पुर्‍याउने बदनियतले नभए नगरेको कामलाई इस्टिमेट अनुसार भए गरेको भनी सिफारिस लिखत तयार गरी नभए नगरेको कामलाई फिल्डमा भएको कामभन्दा बढी काम भएको भनी सिफारिस गरी भ्रष्टाचार गरेको हुँदा उनी विरुद्ध र खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दा देवी देवकोटा (धिताल) लाई समेत दोषी देखाउँदै उनीहरूबाट  बिगोसमेत जफत गर्ने माग दाबी सहित आइतबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस