aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बन्द भयो चेक नकाटी रकम भुक्तानी गर्ने सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
बन्द भयो चेक नकाटी रकम भुक्तानी गर्ने सुविधा

काठमाडौं । राष्ट्र बैंकले पर्याप्त तयारी नगरी रियल पेमेन्ट सिस्टम (आरटीजीएस) सञ्चालनमा ल्याएकाले हाल बन्द भएको छ । आवश्यक गहकार्यबिनै सञ्चालनमा हतार गरेकाले आरटीजीएसले काम गर्न नसकेको बैंकहरूले बताएका छन् । 

आरटीजीएस प्रणाली तयार भए पनि राष्ट्र बैंक र वाणिज्य बैंकहरूको सिस्टममा पूर्ण रूपमा एकीकृत भइनसकेकाले केही समयका लागि स्थगित गर्नुपरेको राष्ट्र बैंकले बताएको छ।

चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनसाथ अर्को खातामा पैसा जम्मा हुनेलगायत स्विधासहितको आरटीजीएस प्रणाली भदौ २९ मा औपचारिक रूपमा सुरु भएको थियो।

अनौपचारिक रूपमा राष्ट्र बैंकले भदौ २६ देखि आरटीजीएस प्रणालीमार्फत कारोबार सुरु गरेको थियो । औपचारिक रूपमा उद्घाटन भएको २ दिनमै आरटीजीएसले काम गर्न सकेन र राष्ट्र बैंकले त्यसलाई बन्द गरेको छ । आरटीजीएसका लागि राष्ट्र बैंकले भदौ २७ सम्म २८ वटै बैंकसँग सम्झौता गरिसकेका थिए।

सञ्चालनमा ल्याउँदा तामझाम गरिए पनि स्थगित गर्दा राष्ट्र बैंकले कुनै सूचना जारी गरेको छैन । आरटीजीएस कारोबारका लागि बैंकमा पुग्ने ग्राहकलाई बैंकले सो प्रणालीको कारोबार बन्द भएको भन्दै फिर्ता पठाउने गरेका छन् । राष्ट्र बैंकले भने आरटीजीएस बन्द नभई स्थगित भएको बताएको छ। परीक्षणका क्रममा रहेकाले केही समयका लागि आरटीजीएसमार्फतको कारोबार रोकिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

‘पहिलो टेस्टिङ फेजमा थियो,’  उनले भने, ‘नयाँ सिस्टम ल्याउदा कहिलेकाही यस्तो भइहाल्छ ।’ राष्ट्र बैंकले औपचारिक रूपमा उदघाटन गर्दा भने परिक्षणकाल पूरा भएको जनाएको थियो। आरटीजीएस प्रणाली सुरुदेखि नै राम्रोसँग सञ्चालन हुन नसकेको बैंकहरू बताउँछन्।

‘हाम्रो बैंकबाट २र४ वटा कारोबार आरटीजीएसमार्फत भए पनि पूर्ण सफल हुन सकेन,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘तयारीबिनै लागू गरिएकाले सञ्चालन  हुन नसकेको हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस