काठमाडौँ । मर्निङ वाकमा निस्किने महिलाहरूको शृङ्खलाबद्ध रुपमा सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महिलाहरूलाई पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले बिस दिनमै एकै तरिकाले आठ वटा सिक्री लुटेका थिए । घटनाबारे जानकारी पाएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेराको खोजी तीव्र पारेको थियो ।
प्रहरीका अनुसार सिक्री लुट्ने योजना काभ्रेको पाँचखाल नगरपालिका ७ घर भई हाल बानेश्वर बस्ने उमेश क्षेत्रीले बनाएका थिए । चोरी गर्ने रामेछापको लिखु गाउँपालिका १ घर भई हाल काठमाडौँको हाँडी गाउँ बस्ने रवीन दमाई रहेको र उनि सबार मोटर साइकल चलाउने सुनसरीको धरान उपमहानगरपालिका ८ घर भई हाल चाबहिल बस्ने रवि विक रहेको खुलासा भएको प्रहरीको दाबी छ । चोरीको सुन बिक्री गर्न सहयोग गर्ने धनकुटा घर भई हाल राम मन्दिर बस्ने राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बङ्गाल घर भई हाल न्यु रोड बस्ने श्रीकान्त मैतीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू असार २२ गते नै पक्राउ परेका थिए । आवश्यक अनुसन्धान पुरा गरी आइतबार उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । प्रहरीका अनुसार चोरी गरेकै बाइक प्रयोग गरेर मर्निङ वाकमा निस्किने महिलालाई पछ्याउने र आफुलाई लुट्न र भाग्न अनुकूल हुने ठाउँ आएपछि महिलालाई पछ्याएर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।
यो समुहले काठमाडौँको कपुरधारामा असार १ गते पहिलो लुटपाट गरेका थिए । सो घटनामा बिहान ४:४० बजे घरबाट मर्निङ वाकमा निस्किएकी स्थानीय रमा पाण्डे परेकी थिइन् । उनलाई पछ्याएका उनीहरू उनको सिक्री लुटेर भागेका थिए । सिसिटिभी फुटेजमा कालो हुडी लगाएका एक युवकले सिक्री थुतेको गरेको र अर्कोले बाइक चलाएर सहयोग गरेको देखिएको थियो । कपुरधाराबाट भागेका उनीहरूले त्यही दिन ५:५५ बजे टोखाको ग्रान्डी अस्पताल नजिकै मर्निङ वाक गरिरहेकी सरस्वती खतिवडालाई पनि लुटेको प्रहरीको भनाई छ ।
त्यसपछि सो समुहले असार ३ बिहान गते नागार्जुनको बुद्ध चोकमा रेखा घिमिरेको सिक्री लुटेको अनुसन्धानबाट खुलेको छ । त्यसैगरी, असार १३ गते बिहान टोखाको विष्णुमती पुल नजिकै मंगलीमाया डङ्गोलको सिक्री पनि त्यसैगरी लुटिएको थियो ।
सिसिटिभी फुटेजका आधारमा अनुसन्धान थालेको प्रहरीले सबै घटनामा महिलालाई पछ्याएर लुट्ने रविन दमाईलाई बुढानीलकण्ठ स्थित पार्क भिलेज होटेल नजिकैबाट पक्राउ गरेको थियो । सोधपुछका क्रममा रविनले उमेश क्षेत्री मुख्य योजनाकार रहेको बताएका थिए । प्रहरीका अनुसार गत वैशाखमा बाइक चोरीमा हिरासत परेका क्षेत्री र चोरीमा हिरासत पुगेका रविनबीच चिनजान भएको थियो । त्यहाँबाट निस्किएपछि उमेशको योजनामा उनीहरूले यस्तो कार्य थालेका थिए ।
प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का १ थान (११.२ ग्राम), सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका मोटरसाइकल दुई वटा, मोबाइल फोन ६ थान र सुनको नेकलेस एक थान बरामद गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस