aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आरजु राणा पक्राउ पर्न लागेकी हुन् ? यस्तो रहेछ तथ्य

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, २५ असार २०८०
आरजु राणा पक्राउ पर्न लागेकी हुन् ? यस्तो रहेछ तथ्य

काठमाडौं । आइतबार अपराह्नतिरबाट भुटानी शरणार्थी प्रकरण एकाएक चर्चाको चुलीमा पुग्यो । यस प्रकरणमा अभियुक्तका रूपमा पुर्पक्षका लागि थुनामा रहेका सन्देश शर्मा र जाहेरवाला गजेन्द्र बुढाथोकीबीच भएको भनिएको टेलिफोन वार्तालापमा सुनिएको आवाज सन्देश शर्माको नै भएको पुष्टि भएको भन्ने प्रहरी प्रधान कार्यालयको पत्र सार्वजनिक भयो ।

झन्डै डेढ मिनेटको वार्तालापमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं प्रतिनिधिसभा सदस्य डा। आरजु देउवालाई २ करोड र पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी एवं अर्की प्रतिनिधिसभा मञ्जु खाँणलाई ६ करोड रुपैयाँ बुझाएको भनेर अभियुक्त सन्देश शर्माले भनेको स्पष्ट सुनिन्छ ।

आरजु देउवाले सो वार्तालापको टेप ‘एनिमेटेड’ भएको दाबी गर्दै अनुसन्धान गर्न प्रहरीमा निवेदन दिएकी थिइन् । हालै आरजुले आफ्नो उजुरीमाथिको अनुसन्धान कहाँ पुग्यो भनी ताकेता गरिछन् । प्रहरीले जनाएअनुसार आइतबार सार्वजनिक भएको प्रहरीको पत्र कुनै सार्वजनिक खपतका लागि नभई स्वयं आरजु देउवाको ताकेताको जवाफ हो । प्रहरी भन्छ, ‘त्यो कसरी सार्वजनिक भयो हामीलाई थाहा छैन ।’

जे होस्, सो पत्र सार्वजनिक भएपछि चर्चाको चुलीमा पुग्यो । अनायास आरजु देउवा र मञ्जु खाँण गिरफ्तार हुनेसम्मका अनुमान र अपेक्षाले शिखर चुम्यो ।

वास्तविकता चाहिँ के रहेछ भने सो टेप र त्यसको आवाज सक्कली भएको पुष्टि १० जेठमा नै अदालतमा बुझाइएको मिसिलमा नै सामेल गरिएको रहेछ । स्वयं अभियुक्त सन्देश शर्माले सो आवाज आफ्नै भएको स्वीकारेका रहेछन् । तर, सन्देश शर्माले त्यो वार्तालापमा भएको कथनप्रति भने इन्कारी गरेका रहेछन् ।

स्रोतका अनुसार सन्देश शर्माले इन्कारीमा भनेका छन्, ‘जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसले हामीलाई समस्यामा पारिसके । निजहरू आएको समयमा हामी तपाईंलाई फोन गर्छौं । सो समयमा तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएको छौं भनी जानकारी गराइदिनुभयो भने बच्छौं भनी पहिले नै भनेका थिए । त्यहीअनुसार मैले फोन गरेको हुँ । पहिले नै उनीहरूको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा उनीहरूले भनेअनुसार आरजु देउवा तथा वालकृष्ण खाण र तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनू भनेर मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो ।’

प्रतिक्रिया दिनुहोस