काठमाडौं । नक्कली धितोमा ऋण प्रवाह प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित १६ जनाविरुद्ध बैंकिङ कसुर ऐन २०६४ अनुसार कारबाही गर्न विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन पेश गरेको छ।
प्रतिवेदनमा खोलाको जग्गा धितोमा राखी ऋण लिने स्वर्णिम एन्ड श्रीजन कम्पनी प्रालिका संस्थापक एवम् सञ्चालक सुरेन्द्र श्रेष्ठविरुद्ध हदैसम्मको कारबाहीको माग सीआईबीको छ । सीआईबीले सो प्रकरणमा संलग्न १६ मध्ये ११ जनालाई पक्राउ गरिसकेको र धितो मूल्यांकनकर्ता भेषराज खत्रीसहित पाँच जना अझै फरार रहेको बताएको छ।
चार वर्षअघि बैंक अफ काठमाण्डूबाट नक्कली जग्गा धितो राखी रू. ५ करोड ऋण लिएका ऋणी सुरेन्द्र श्रेष्ठ यस प्रकरणका मुख्य अभियुक्त हुन् । सीआईबीले श्रेष्ठलाई डेढ महीनाअघि नै पक्राउ गरी अनुसन्धान शुरू गरेको थियो । मकवानपुर, हेटौंडाका स्थायी बासिन्दा रहेका श्रेष्ठले झापाको विरिङ खोलालाई धितो राखेर नक्कली (किर्ते कागजात पेश गरी बैंक अफ काठमाण्डूबाट २०७२ सालमा कर्जा लिएको छानविनको क्रममा देखिएको छ ।
श्रेष्ठले झापाको जग्गा धितो राखी साढे १ करोड र इटहरी लगायत अन्य स्थानका टुक्रे जग्गाबाट साढे ३ करोड रुपैयाँ ऋण लिएका थिए। श्रेष्ठले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली पाइएको सीआईबीले बताएको छ । उनले ऋण तिर्न छाडेपछि बैंकले सम्पत्ति लीलाम गरी उठाउने क्रममा धितो खोज्दै जाँदा खोला भेटिएको बैंकले बताएको छ। यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस