aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

३८७ प्रतिशतले बढ्यो विदेशी लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
३८७ प्रतिशतले बढ्यो विदेशी लगानी

काठमाडौं ।  गत आर्थिक वर्षमा २५ प्रतिशतले घटेको विदेशी लगानी चालू आर्थिक वर्षको सुरुवातमा भने ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार उक्त महिनामा नेपालले एक अर्ब ४४ करोड १० लाख रुपियाँ विदेशी लगानीबापत प्राप्त गरेको छ ।

अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो लगानी केवल २९ करोड ५७ लाख रुपियाँ मात्र थियो । केन्द्रीय बैङ्कका अनुसार समीक्षा अवधिमा प्राप्त भएको विदेशी लगानी तीन सय ८७ प्रतिशतले बढी हो ।

नेपालले गत आवमा १३ अर्ब छ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा १७ अर्ब ५१ करोड रुपियाँ विदेशी लगानी भित्रिएको थियो ।

सरकारले यसबीचमा गत फागुनमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित दोस्रो पटक विदेशी लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा ३० खर्ब रुपियाँभन्दा बढीको विदेशी लगानी प्राप्त भएको थियो ।

राष्ट्र बैङ्कका अनुसार साउनमा पर्यटकबाट हुने आय, विप्रषणमा पनि वृद्धि भएको छ । गत साउनमा पर्यटकबाट चार अर्ब ३८ करोड रुपियाँ आम्दानी भएको यस वर्षको उक्त महिनामा ७.६ प्रतिशत वृद्धि भई आम्दानी चार अर्ब ७१ करोड रुपियाँ पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।

विप्रेषणमा भने दुई प्रतिशतको मात्र वृद्धि भएको छ । नेपालले यो साउनमा ७५ अर्ब ४० करोड रुपियाँ विपे्रषण प्राप्त गरेको छ । अघिल्लो साउनमा यस्तो रकम ७३ अर्ब ९५ करोड रुपियाँ थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस