काठमाडौं । उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ महिनामा मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.२९ प्रतिशतले घटेको छ ।
त्यसैगरी, रेष्टुरेण्ट तथा होटलको मूल्यवृद्धि १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.६० प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.३३ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४१ प्रतिशत र फर्निसिब तथा घरायसी उपकरणहरुको ७.८३ प्रतिशतले बढेको छ ।
यस अवधिमा महिनामा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस