
काठमाडौँ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले नेपालको आर्थिक परिसूचकहरू केही सकारात्मक दिशामा अघि बढेको देखाएको छ । सोमबार प्रकाशित चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्म) को तथ्याङ्कमा त्यस्तो देखिएको हो ।
यसबिच मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशतमा कायम रहेको देखिएबाट मूल्यवृद्धि नियन्त्रणमा नै रहेको देखिएको छ । त्यसैगरी जेठ महिनामा आयातमा समेत १६ प्रतिशतको गिरावट देखिएको छ । त्यसो त निर्यातमा पनि २२.७ प्रतिशतले कमी आउँदा नेपालको व्यापार घाटा १५.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
जेठ महिनामा विदेशबाट भित्रिएको रेमिट्यान्स नेपाली रुपैयाँमा २२.७ प्रतिशतले बढेको र मुलुकको शोधनान्तर स्थिति दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ । हाल मुलुकमा कुल विदेशी विनिमय सञ्चिति १४८० अर्ब ८७ करोड अर्थात् अमेरिकी डलर ११ अर्ब ३० करोड रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसबिच बैंक तथा वित्तीय संस्थाको निक्षेप र ऋण प्रवाह दुवै बढेको देखिएको छ । तर, निक्षेप सङ्कलनको तुलनामा ऋण प्रवाह कम हुँदा बैंकमा पैसा थुप्रिएको अवस्था छ ।
चीनतर्फको निर्यात बढ्यो
आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई रु.१४८० अर्ब ९८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस् लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई रु.१३३७ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.१३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.२०० अर्ब ८८ करोड बराबरको भएको थियो ।
प्रतिक्रिया दिनुहोस