aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ललिता निवासको जग्गा प्रकरणमा बहालवाला सचिव पक्राउपछिको तरंग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असार २०८०
ललिता निवासको जग्गा प्रकरणमा बहालवाला सचिव पक्राउपछिको तरंग

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै सरकारका बहालवाला सचिवलाई पक्राउ गरेपछि कर्मचारी क्षेत्रमा तरंग सिर्जना भएको छ । ललितानिवासको जग्गा व्यक्ति र गुठीको नाममा बनाउनुअघि टिप्पणी उठाउने तत्कालीन शाखा अधिकृत र हालका बहालवाला सचिव कृष्णबहादुुर राउतलाई पक्राउ गरेकोमा कर्मचारी वृत्तमा असन्तुष्टि सिर्जना भएको छ । सीआईबीले सञ्चार सचिव राउतलाई बिरामी बुबालाई भेट्न आइतबार विराटनगर जाने क्रममा काठमाडौंस्थित एयरपोर्टबाट पक्राउ गरेको थियो ।

सीआईबीले सोही प्रकरणमा अन्य ५ पूर्वसचिव र १७ सहसचिवलगायतका दर्जनौं कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरिरहँदा सो कार्यमा संलग्न उच्च राजनीतिक नेतृत्वमाथि सीआईबीले केही गर्न नसकेको भन्दै कर्मचारीवृत्तमा असन्तुष्टि पैदा भएको छ । सोमबार केही बहालवाला र पूर्व कर्मचारीले सामाजिक सञ्जालमार्फत अन्तिम निर्णय गर्ने राजनीतिक नेतृत्वलाई बचाएर टिप्पणी मात्रै उठाउने कर्मचारीलाई पक्राउ गर्नु गलत भएको भन्दै विरोध गरेका छन् ।

सरकारका पूर्व मुख्य सचिव डा. विमल कोइरालाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत पक्राउ परेपछि त्यसप्रति विरोध जनाएका छन् । कोइरालाले सामाजिक सञ्जालमार्फत शाखा अधिकृत हुँदा लेखेको टिप्पणीको आधारमा सचिव भइसकेपछि पक्राउ गर्नु ठीक नभएको बताएका छन् । पूर्व मुख्यसचिव कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन्, उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठीक भएन ।’ आजको नेपाल समाचारपत्रमा छ । 

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने गिरोहमा राजनीतिक नेतृत्व, भूमाफिया र कर्मचारीहरू गरी त्रिपक्षीय नेक्सस देखिए पनि सीआईबीले भने कर्मचारीहरूलाई बढी निशाना बनाएको भन्दै कर्मचारी संयन्त्रबाट विरोध भएको हो । सरकारी जग्गा व्यक्तिको नाममा बनाउने किर्ते धन्दा सञ्चालन गर्ने र कर्मचारीतन्त्रलाई बाध्य पार्ने राजनीतिक नेतृत्वमाथि सीआईबीले पक्राउ पुर्जी जारी गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस