aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ब्रिक्सको सुन समर्थित मुद्राले समाप्त पार्दैछ डलरको साम्राज्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असार २०८०
ब्रिक्सको सुन समर्थित मुद्राले समाप्त पार्दैछ डलरको साम्राज्य

जब रुस - युक्रेन युद्ध सुरु भयो त्यो बेला नै एउटा अनुमान सार्वजनिक भएको थियो- अब चाँडै नै रुस र चीनले आफ्नै सुन समर्थित मुद्रा सुरु गर्नेछन् । त्यति बेला त्यो विचार पूर्णतया काल्पनिक जस्तै लाग्थ्यो जुन अब वास्तविकता बन्दैछ ।

अब केही महिना भित्रै संसारका ४१ भन्दा बढी मुलुकहरू सुनको मानकमा फर्कने छन् जस्तो देखिन्छ। यसको आधिकारिक घोषणा अगस्टमा दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा हुने अपेक्षा गरिएको छ ।

धेरैले सुनले समर्थन गरेको नयाँ लेनदेन इकाई राम्रो पैसा हुने अनुमान गरेका छन् । जुन मुद्रा अहिले विश्वमा एक नम्बरमा रहेको अमेरिकी डलरको प्रभुत्वको लागि ठूलो चुनौती हुन सक्छ ।

विश्लेषकहरूले भनिरहेका छन् कि नयाँ मुद्रालाई सुन समर्थित बनाउँदा साँच्चै राम्रो मुद्रा बन्न सक्छ । जुन चाहेको बेला सुनमा रूपान्तरण हुनुपर्दछ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको दिमागमा यो कुरा आइसकेको छ भन्ने अहिले धेरैले विश्वास गरेका छन्।

सुनलाई पैसाको रूपमा प्रयोग गर्दा यसले विश्व विनिमयमा फेरी खेल नै परिवर्तन गर्नेमा कुनै शङ्का छैन। यसले हाल चल्तीमा रहेका धेरै मुद्राहरूको तीव्र अवमूल्यन गर्न सक्छ। यसले हाल रहेको विश्वव्यापी मुद्रा प्रणालीमा गम्भीर झट्का लगाउन सक्ने देखिन्छ ।

नयाँ मुद्राको आधिकारिक घोषणा अगस्टमा दक्षिण अफ्रिकामा हुने ब्रिक्स सम्मेलनमा हुने अपेक्षा गरिएको छ। यो घोषणा भन्दा पनि अचम्मलाग्दो कुरा संयुक्त राज्य अमेरिकाको ट्रेजरी सेक्रेटरी जेनेट येलेनले गरेको टिप्पणी हो । जहाँ उनले यसलाई निकै महत्त्व दिँदै 'केवल भ्रम'को रूपमा वर्णन गर्न सक्छु भनेकी छिन् ।

येलेनले यस सप्ताहान्तमा भनिन्, "मैले विगतमा भनेको कुरा दोहोर्‍याउन चाहन्छु, मलाई लाग्छ कि अमेरिका विश्व लेनदेनलाई सहज बनाउन र आगामी वर्षहरूमा पनि रिजर्भ मुद्राको रूपमा सेवा गर्न डलरले प्रमुख भूमिका खेल्ने छ भनेर विश्वस्त छ।" उनले पत्रकारलाई भनेकी थिइन्, "तपाईँले उल्लेख गर्नुभएको [ब्रिक्स साझा मुद्रा] लगायत कुनै पनि विकासबाट त्यो भूमिका खतरामा परेको मैले देख्दिन।"

यसैबिच ब्रिक्स को यो घोषणा विश्वव्यापी रिजर्भ मुद्राको रूपमा अमेरिकी डलरलाई हटाउने ठूलो अभियानको मुख्य प्रवेश बिन्दु हो। यसले हामीलाई पहिले नै थाहा भएको कुरालाई झन् बलियो बनाउँछ। जुन विश्वास हो - सुन नै वास्तविक पैसा हो ।

यस्तो अनुमानको लागि बलियो आधार के हो भने यदि तपाईँले ब्रिक्समा सामेल हुन इच्छुक देशहरूलाई हेर्नुहुन्छ भने तिनीहरू सबैसँग पर्याप्त सुन होल्डिङ छ। अहिले ब्रिक्समा सामेल हुन चाहनेहरूको सङ्ख्या बढ्दै गएको छ । लगभग ४० भन्दा बढी देशहरू ब्रिक्समा सामेल हुनलाई लाइनमा उभिएका छन्।

 त्यस मध्ये पनि साउदी अरब त्यस्तो मुलुक हो जसले यो अभियानमा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । उसको सहयोग रहयो भने सुनमा आधारित विश्व मुद्रा हो झन् प्रभावकारी बन्न सक्छ किनकि तेल बजारमा आफ्नो प्रभुत्वको कारणले यो नयाँ मुद्रा बढाउन आवश्यक परिवर्तनलाई साउदीले प्रभाव पार्न सक्छ।

यसमा कुनै शङ्का छैन कि ओपेक, ब्रिक्स राष्ट्रहरू, साउदी अरेबिया सबै एकै ठाउँमा आए भने अमेरिकी डलरको कुनै खैरात चल्ने छैन । त्यसपछि संसारले डलरलाई पूर्ण रूपमा बेवास्ता गर्नेछ किनभने उनीहरूलाई अब तेल किन्न डलर आवश्यक पर्ने छैन ।

यसरी संसारले डि-डलरीकरणको लागि आफुलाई तयार गर्नुको मुख्य कारण अमेरिकाले विगत लामो समय देखी गर्दै आएको रिजर्भ मुद्राको रुपमा यसको दुरुपयोग नै हो । भर्खरै मात्र पनि रुस-युक्रेन युद्धको क्रममा उसले आफ्नो मुद्रालाई नै हतियार बनाउँदै रुसलाई दबाबमा राख्न गरेको प्रयत्न सम्झनायोग्य घटना हो।

जब सुन समर्थित मुद्राले विश्वव्यापी व्यापार चरणमा आफ्नो बाटो बनाउँछ, यसलाई गम्भीरताका साथ लिइनेछ । यसो किन हुन्छ भने बाँकी संसारले सुनको महत्वलाई बुझेको छ र डलरलाई नै मानक मुद्रा मानेर विश्व विनिमय प्रणाली संचालन गर्दा भोगेको समस्याको मुक्तिको बाटोको रुपमा यसलाई स्विकार्ने छ । 

प्रतिक्रिया दिनुहोस