काठमाडौं । मुलुकको अर्थतन्त्र महँगीको मारतर्फ धकेलिँदै गएको छ। गत साउनमा औसत मूल्यवृद्धि दर २०७४ भदौपछि पहिलोपटक ७ प्रतिशत हाराहारी पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। 'वैशाखदेखि लगातार मूल्यवृद्धि बढ्दोक्रममा छ', राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट भन्छन्।
उनका अनुसार तरकारी, माछामासुको आपूर्तिमा केही असहजता देखिएको र स्वदेशी उत्पादन घटेका कारण महँगी बढेको हो। साउनमा तलब र ज्याला दर १३ प्रतिशत हाराहारीमा बढेका कारण श्रम लागत बढ्दा मूल्य वृद्धिलाई सहयोग पुगेको उनको भनाइ छ। भारतमा धिमा गतिमै भए पनि पछिल्ला महिना मूल्यवृद्धिको दवाव पर्दै गएको असर नेपाली बजारमा देखिएको उनीबताउँछन्।
साउनको 'वर्तमान आर्थिक तथा वित्तीय स्थिति' बारेको प्रतिवेदनमा राष्ट्र बैंकले मुद्रास्फीति ६.९५ प्रतिशत पुगेको उल्लेख गरेको छ। केन्द्रीय बैंकले नै यो आर्थिक वर्ष मुद्रास्फीति ६ प्रतिशतभित्र राख्ने प्रक्षपण गरेको थियो। साउनमा तरकारी र फलफूलको भाउ अत्यधिक महंगिएको राष्ट्र बैंकको तथ्यांक छ।
एक वर्षअघिको तुलनामा तरकारीको भाउ २३.३८ प्रतिशत र फलफूलको भाउ २०.२ प्रतिशत महंगिएको छ । यसबीच माछामासु पनि महँगिएको छ। अर्कोतर्फ भारतसँगको मुद्रास्फीति अन्तर पनि ह्वात्तै बढेको छ। तीन वर्षयता पहिलोपटक भारतसँगको औसत मूल्य वृद्धिको अन्तर ३ प्रतिशत नाघेको राष्ट्र बैंकको तथ्यांक छ।
झण्डै दुई तिहाइ आयात भारतबाटै हुने नेपाली बजारमा मूल्यवृद्धिको अन्तर बढ्नुमा राजस्व वृद्धिको असर र व्यापारीको मनोमानीका कारण पनि मूल्य बढ्न सहयोग पुगेको राष्ट्र बैंकका अधिकारीले बताउँछन् । तर कार्यकारी निर्देशक डा.भट्ट भने यो वर्ष करका दर धेरै परिवर्तन नभएकाले मूल्यमा असर नपारेको बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस