
काठमाडौं । सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ । तीन घण्टाको बाटोमा मोटरसाइकल बोकेर लैजाने गरिएको छ ।
मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याए । त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ ।
उनले सुरुमा चालिस हजार रुपियाँबाट मोलमोलाइ सुरु भए पनि पछि तीस हजारमा मोटरसाइकल बोक्न मानिस तयार भएको बताए । सो क्षेत्रमा मोटरसाइकल बोकेर ल्याउन कम्तीमा चारदेखि छ जना मानिस आवश्यक पर्छ । सिमकोटमा गाडी तथा मोटरसाइकल सञ्चालनमा आएपछि पछिल्लो समय गाडी र मानिसलाई मोटरसाइकल बोकाएर जिल्लामा ल्याउने चलन बढेको छ ।
यसरी मानिसलाई बोकाएर १५ वटाभन्दा बढी मोटरसाइकल सदरमुकाम सिमकोट ल्याइएको छ । सुरुमा यसरी मोटरसाइकल बोकाएर ल्याउने चालकले पचास हजारसम्म भाडा तिरेको बताइन्छ । छारेबाट सडक सञ्जाल जोडिएकाले त्यो मार्ग हुँदै सिमकोटसम्म मोटरसाइकल चलाएर नै ल्याउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस