काठमाडौं । लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज निधन भएको छ । प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माका अनुसार बुधबार बिहान साढे ८ बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अहिले दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालको पार्थीव शरीर राखिने र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । प्रकाशको निधनपछि सिता दाहाललाई रोगले थप च्यापेको थियो ।
विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रधानमन्त्री दाहालसँग विवाह भएको थियो । विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिईन् ।
मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्याउएकी थिइन् । पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी थिईन् । जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिईन् ।
प्रतिक्रिया दिनुहोस