aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भैरहवा भन्सारबाट जाँचपास बिनै भित्रिन्छन् गाडी

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • बुधबार, २७ असार २०८०
भैरहवा भन्सारबाट जाँचपास बिनै भित्रिन्छन् गाडी

भैरहवा । भैरहवा भन्सार कार्यालयबाट भन्सार नगरी गाडी नै पास हुने क्रम बढ्दो छ ।  मुलुककै दोस्रो ठूलो भन्सार  कार्यालयबाट यसरी जाँच पास बिना नै गाडी आवतजावत हुँदा राज्यले अर्बौँको राजश्व गुमाइरहेको छ ।  

भन्सार कार्यालयको ३ सय मिटर दायाँ बाँयामा खुला सिमाना रहेको ठाउँमा गाडीको भन्सार सम्बन्धी कार्य हुनुपर्ने हो । ट त्यसो नगरी भन्सार कार्यालय परिसरबाट गाडी निस्कने गरेको देखिन्छ । भैरहवा भन्सार कार्यालय प्रमुखको जिम्मेवारीमा मणिराम पौडेल छन् । पौडेलको नेतृत्वमा रहेको कार्यालयबाट गत जेठ ६ गते युपी ५३ ए एफ टि ५४५२ नं.को पिकअप गाडी नक्कली प्रज्ञापन पत्र भरेर बाहिरियो । पछि सशस्त्र प्रहरीले चेकजाँच गर्दा ३ हजार ८ सय किलो माछा भन्सार नभएको पाइयो ।

त्यस्तै, जेठ २५ गते सोमबार भारतबाट नेपाल भित्रिएको प्याज सहितको युपी ३१ टी ९९४१ नम्बरका माल बाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरिन खोज्दा अन्नपूर्ण टर्मिनलको सुरक्षा गार्डले रोकेपछि घटना बाहिरियो । ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरिनै लाग्दा किर्ते कागज भएको आशङ्कामा टर्मिनलले रोकेको थियो । यस विषयमा भन्सार प्रमुख मणिराम पौडेलसँग सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन चाहेनन् । उनी भन्सारको विषयमा सूचना अधिकारी युवराज भट्टराई समक्ष बुझ्नु भनेर पन्छिए भने भट्टराईले भन्सार प्रमुखले आफुलाई नबोल्न आदेश दिएको बताए ।

हाल पक्राउ गरिएको गाडी भन्सार अगाडि राखिएको छ । उक्त गाडीका चालक र सहचालक पक्राउ परेका छन् । प्याज बोकेको गाडी भन्सार परिसरबाट बाहिरिँदै गर्दा अन्नपूर्ण टर्मिनल्सका कर्मचारीले पक्राउ गरेको र उक्त गाडी भन्सार अगाडि राखिएको सूचना अधिकृत भट्टराईले बताए । तिनीहरूको साथबाट भन्सार भरेको प्रज्ञापन पत्र पनि लिएको भए पनि भन्सार प्रमुखले सूचना बाहिर ल्याउन दिएका छैनन् । कसको सामान, कसले प्रज्ञापन पत्र भ¥यो भन्ने सम्मको सूचना भन्सार कार्यालयले गोप्य राख्नु आफैमा शङ्कास्पद देखिएको छ ।

गत जेठ  ६ गते समातिएको माछाको गाडिबारे स्थानीय पत्रकारहरूले निरन्तर जिज्ञासा राखेपछि ७ गते राति उक्त माछा खाडलमा गाडिएको थियो । भन्सार प्रमुख पौडेलले २०७८ सालको भदौमा जिम्मेवारी सम्हालेताका २०७८ भदौ ४ गते लु २ च २५० नम्बरको पिकअप गाडिबाट २ करोड ३५ लाख रुपैयाँको मदिरामा लगाउने स्टिकर बाहिरिएको थियो ।

भन्सारले सही भनेर छोडेको गाडी सशस्त्र प्रहरीले चेकजाँच गर्दा नक्कली ठहरियो । तत्कालीन समयमा भन्सार प्रमुख पौडेल सो घटनामा विभाग तानिएका थिए । यति बेला मणिराम पौडेल भैरहवा भन्सार कार्यालयको प्रमुख भएर आएपछि फेरी त्यस्ता घटना बढ्न थालेका छन् । यात्रु शाखामा १ सय रुपैयाँको सामानलाई भन्सार गर्न लगाउने कार्यालय भित्रैबाट मालवाहक गाडी बाहिरिनुले भन्सारका कर्मचारी प्रति नै प्रश्न चिन्ह खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस