aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असार २०८०

काठमाडौं । सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबीच अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सम्झौता भएको छ । बुधवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उक्त सम्झौता भएको हो । 

अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकका लागि कोषले विभिन्न योजना ल्याएको छ । उनीहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजनाबाट लाभ लिन सक्ने छन् ।

सामाजिक सुरक्षामा जोडिनेहरू निरन्तर बढिरहेका कारण सरकारले धान्न नसक्ने बताउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले भने, ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष आजको आवश्यकता हो । यसको प्राक्टिस संसारभर नै छ । श्रम बजारमा यो बिना काम हुन सक्दैन । त्यसैले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई आजदेखि जोड्दैछौं ।’

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९ बमोजिम अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी कुल २०.३७५ रकम हाल एक हजार नौ सय बाह्र रुपैया मासिक रुपमा कोषमा योगदान गरी कोषबाट सञ्चालित विभिन्न योजनाहरुमा सहभागी हुने गरी सम्झौता सम्पन्न भएको छ।

यसैगरी कार्यविधिमा स्वरोजगारमा रहेका व्यक्तिहरुले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशतदेखि सो को तीन गुणासम्म हाल न्यूनतम  दई हजार नौ सय नौ रुपैया पैँतिस पैसाका दरले अधिकतम यसको तीन गुणासम्म कोषमा योगदान गरी कार्यविधि बमोजिमको सुविधा उपभोग गर्न सक्ने व्यवस्था रहेको छ। कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना,दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनासञ्चालन सम्बन्धि कोष र पालिका बीचको सम्झौताले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुनेगरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ। कार्यक्रममा फेदीखोला गाउँपालिकाले हाल निर्माण क्षेत्रमा कार्यरत ७१४ जना श्रमिकहरुलाई कोषमा आबद्ध गर्ने र कोषले कार्यविधि बमोजिमका सुविधाहरु प्रदान गर्नेगरी अघी बढेको हो । 

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कार्यविधिले तोकेको सुविधा सो गाउँपालिकाका श्रमिकहरूलाई उपलब्ध गराउने बताए । उनले अगाडी भने, ‘योगदान कर्ताहरूले कोषबाट पाउने सुविधा सहजै पाउन सक्छन् । आगामी दिनमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको लागि यो सम्झौताले सहज बनाएको छ ।’  

त्यस्तै, सोही गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको लागि सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने पहिलो पालिका बनेको बताए । उनले भने, ‘यस्तो योजना सञ्चालन गर्ने हामी पहिलो पालिका बनेका छौँ । हामीलाई यो अवसरसहित चुनौती पनि रहेको छ । भोलीको दिनमा सबै पालिका जोडिन सक्छन् भन्ने विश्वास छ ।’ 

 

प्रतिक्रिया दिनुहोस