aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पहिरोपीडितको कन्तविजोग, दुई वर्षदेखि त्रिपालमुनि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असार २०८०
पहिरोपीडितको कन्तविजोग, दुई वर्षदेखि त्रिपालमुनि

काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।

विसं २०७९ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ । पहिराले घर बगाएका पीडितसित ओत लाग्ने ठाउँ छैन । पहिराबाट विस्थापित परिवारमध्ये २५ परिवार चित्रे, १२ परिवार बखल्टुमटार र अन्य खाँदबारीमा अस्थायीरूपमा बसिरहेका गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिए । 

“भवन निर्माणका लागि बजेटको अभाव छ”, उनले भने । गाउँपालिकाले पहिरोपीडितको आवास निर्माणका लागि रु पाँच लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । पहिरोपीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो । पानी पर्न थालेपछि उनीहरुलाई घर बगाउने चिन्ता रहन्छ ।

जोखिम भए पनि अन्यत्र जाने ठाउँ नभएपछि केही परिवार बेसिन्दामै बसिरहेका छन् । गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा रु एक करोड ३० लाखमा खरिद गरिसकेको छ । तर भवन निर्माणको भने टुङ्गो लागेको छैन ।  

प्रतिक्रिया दिनुहोस