ललितपुरको चापागाउँ दोबाटोमा रहेको एउटा घरमा छिर्ने हो भने जो कोहीको मन लोभ्याउने हस्तकलाका सामाग्री देखिन्छन् । पूर्णतया नेपाली उत्पादनले भरिएको त्यो पाँच तले घरको अगाडी ‘उद्यमी घर’ लेखिएको साइन बोर्डलाई त्यहाँ राखिएका वस्तुहरूले न्याय गरेका छन् ।
हेर्दा नै लाग्छ वास्तवमा नै नेपाली हस्तकला उद्यमीहरूको साझा घर हो त्यो, किनकि पहिलो तला नै हस्तकलाका विभिन्न सामाग्रीहरूले भरिपूर्ण छ । दोस्रो तलामा लत्ताकपडा, जुत्ता चप्पल, झोला, खेलौनाहरू लगायतका नेपाली उत्पादन रहेका छन् ।
तेस्रो तलामा हाम्रा परम्परागत र सांस्कृतिक महत्त्व बोकेका राडी, गुन्द्री, गलैँचा लगायत नेपाली उत्पादनहरू रहेका छन् । चौथो तलामा उद्यमी घरको कार्यालय राखिएको छ भने पाँचौँ तलामा छ भान्साघर ।
सो उद्यमी घरका सञ्चालक हुन्, दिपक कार्की । कार्कीले भाडामा लिएको घरमा सञ्चालित सो व्यवसायमा श्रीमती शोभा घिमिरेको पनि बलियो साथ छ । विभिन्न गैरसरकारी संस्थामा आबद्ध रहेर धेरैलाई जीविकोपार्जन, उद्यमशीलता, आयआर्जन, महिला सशक्तीकरण र युवा रोजगारीका क्षेत्रमा तालिम दिने गरेका उनीहरू अहिले भने आफैँ उदाहरण बनेर काम गरिरहेका छन् ।
आफुले तालिम दिएका उद्यमीले बजार नपाएको पीडा नै उनीहरूलाई यस्तो व्यापारको लागि उत्प्रेरक बन्यो । त्यसैले सबै उद्यमीको साझा घरका रुपमा खोले उद्यमी घर जहाँ बजारको अभाव भोगिरहेका उद्यमीको उत्पादन बेच्ने गरिन्छ ।
‘उद्यमी त बनायौँ तर ती उद्यमीहरूले उत्पादन गरेको वस्तु कहाँ लगेर बेच्ने भन्ने अर्को चिन्ता थपियो । बजारसम्म पहुँच पुर्याउन सकिएको थिएन । यी कुराहरूको अभाव देखिएपछि त्यस्ता उद्यमीहरूलाई जोड्नु पर्छ भन्ने लागेको थियो’, उनी उद्यमी घर खोल्नुको अन्तर्य खोल्छन् ।
उद्यमी घरमा गाउँघरमा खेर गएका स्रोतसाधनबाट तयार पारिएका उपयोगी सामानहरू पाइन्छन् । जसले बजार नै पाएका थिएनन् । ती बस्तु लक्षित यो घरमा साना उद्यमीले उत्पादन गरेका सबै प्रकारका सामग्री एकै ठाउँमा उपलब्ध छन् ।
उद्यमी घर सञ्चालन गर्नका लागि उनीहरूले दुई वर्षसम्म तयारी गरे । सोही तयारी अनुसार उनले गत पुसदेखि पसल सञ्चालन गरेका हुन् । सुरुवात मै उनले एकदमै राम्रो प्रतिक्रिया पाए । व्यापार यति राम्रो फस्टायो की उनीहरूले औपचारिक रुपमा उद्घाटन गर्ने समय समेत पाएनन् ।
‘सुरुवातमा हामीले धेरै राम्रो प्रतिक्रिया पायौँ । बाहिर निर्यात गर्नेहरूले समेत हामीसँग सामान माग गरे । नेपालमै पनि राम्रो माग भयो । हामीले व्यापार राम्रो भएको कारण औपचारिकरुपमा तत्काल उद्घाटन गर्ने फुर्सद नै पाएनौँ । बल्ल वैशाख २१ गते औपचारिकरुपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालबाट उद्घाटन गर्यौ’, कार्की भन्छन् ।
सुरुवातमा दुई करोड लगानीमा गरेका उनले हालसम्म तीन करोड रुपैयाँ लगानी गरिसकेका छन् । अहिले उनको उद्यमी घरमा विभिन्न पालिकाका प्रमुखहरू आएर उनलाई आफ्नो पालिकामा उत्पादन भएको वस्तुहरू बिक्री गर्नका लागि आग्रह गर्न थालेका छन् । अहिले धेरै पालिकाको उत्पादन त्यहाँ ल्याउने गरेको र पछि पनि अन्य पालिकाको उत्पादन थप गर्दै जाने योजना रहेको उनले सुनाए ।
‘आफ्नो उत्पादन बिक्री गर्न चाहने कुनै पनि उद्यमीलाई हामीले फर्काएका छैनौँ । सबै उद्यमीका उत्पादनहरू हामीले राखेका छौँ । अन्य थप उद्यमीहरूको पनि उत्पादन हामी राख्दै जानेछौँ’, उनले भने ।
उद्यमी घरमा हस्तकलाका सम्पूर्ण सामानहरूसँगै गाँजाको रेसाबाट बनेका जुत्ताहरू, कपडा, बाँसबाट बनेका हस्तकलाका सामाग्रीहरू, काठबाट बनेका विभिन्न सामग्री, माटोका भाँडाकुँडा, गुन्द्री, सुकुल, मिथिला चित्रकला लगायतका सामाग्रीहरू पाइन्छन् ।
त्यस्तै, मखमल, ढाका, गाँजा र अल्लोबाट बनेका जुत्ता चप्पल, ब्याग र पर्स/वालेट, बच्चाका लागि बाँसबाट बनेका खेलौना, गरगहना, सजावटका सामग्री, राडी पाखी, गलैँचा र काष्ठकलाका अनेक सामग्री छन् । फोटो फ्रेम, मायाको चिनो, सम्मान पत्र, प्रमाणपत्रहरू, साडी, कुर्तासुरूवाल, लेहेंगा, दौरासुरूवाल, कोट र जातीय–सांस्कृतिक भेषभुषासम्म यस घरमा पाइन्छन् ।
उद्यमी घरमा हजारौँ प्रकारका सामग्रीहरू छन् । ५० भन्दा बढी जिल्लामा भएका उत्पादनहरू यहाँ छन् । तीन सय भन्दा बढी उद्यमी समूहहरू जोडिएका छन् भने पाँच सय भन्दा बढीले यसबाट अप्रत्यक्ष रोजगारी पाएको कार्की बताउँछन् । यसका साथै यस उद्यमी घरमा १५ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । नेपाली उत्पादन महँगो पनि हुन्छ र बलियो पनि हुँदैन भन्ने धेरैको मानसिकता छ । त्यस्तो मानसिकतालाई उनी चिर्न चाहन्छन् ।
धेरैले उद्यमी घरमा आएर प्रत्यक्ष अनुभव पाएको बताउँदै उनी भन्छन्, ‘हाम्रोमा सस्तो मूल्यमा गुणस्तरीय सामान पाइन्छन् । नेपाली उत्पादन नेपालीहरूले भन्दा बढी विदेशीहरूले बुझेका छन् । उनीहरूले नेपाली सामाग्रीहरू खोजी खोजी मगाउँछन् । त्यो गुणस्तर नभएर पक्कै होइन ।’
हाम्रो ध्यान आयातित सामानमा गएकोले पनि नेपाली उत्पादनमा विश्वास नगर्ने गरेको उनको ठम्याई छ । तर, धेरै नेपालीहरूले नेपाली उत्पादन खोजी खोजी किन्न थालेको पनि उनको अनुभव छ ।
‘नेपाली सामान अत्यन्तै राम्रो छ । सोचे जति नराम्रो र महँगो पनि छैन । हामीले विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सक्छौँ । उनीहरूले भन्दा हामीले सस्तोमा सामान दिन पनि सक्छौँ’, उनले भने ।
पहिलो प्राथमिकता नेपाली उत्पादन नेपालीहरूकै बिचमा पुर्याउने र पछि अन्तर्राष्ट्रिय बजारमा पनि लैजाने उनको लक्ष्य रहेको छ । उनका अनुसार उद्यमी घरले विदेशमा समेत नेपाली उत्पादन निर्यात गर्दै आएको छ । हालै अमेरिकामा सामान पठाएका छन् । यसबाहेक जर्मन, युरोपका धेरै जसो देशहरूमा निर्यात गर्दै आएका छन् ।
आफ्नो स्थानीय स्रोतहरू स्थानीय तहदेखि नै जगेर्ना गर्न सक्ने हो भने विदेशीको भर पर्नु नै नपर्ने उनी बताउँछन् । नेपाल मै समृद्धि ल्याएर रोजगारी सिर्जना गर्न सकिने उनले बताए । सरकारले पनि यस्ता उद्योगलाई प्राथमिकतामा राख्नु पर्ने उनले बताए ।
‘उद्यमीहरूको लागि सरकारले नीतिगत कुरामा ट्याक्स, भ्याट, दर्ता प्रक्रियामा सहजीकरण गर्नु पर्छ । अनि उत्पादन बढ्छ । यसका साथै उत्पादित सामानहरू निर्यात गर्नका लागि सरकारले वातावरण पनि बनाइदिनु पर्छ’, उनले अगाडी भने, ‘विदेशमा यति धेरै नेपाली उत्पादनको माग छन् । निर्यातको पर्याप्त वातावरण बनिसकेको छैन । यसमा सरकारले सहयोग गर्नु पर्छ ।’
नेपालमा सिप भए निराश बन्नु नपर्ने उनको अनुभव छ । ‘नेपालमा सिप भए निराश बन्नु पर्दैन । सिप सिकेर आफ्नो हात तयार पार्नु पर्छ । त्यसपछि जेसुकै उत्पादन गरे पनि गुणस्तरीय भयो भने समस्या हुँदैन’, उनले भने ।
प्रतिक्रिया दिनुहोस