aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असार २०८०
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा

झापा । मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका १५९ बिरामीले चालु आर्थिक वर्षमा १ लाखका दरले उपचार सुविधा पाएका छन् । नगरपालिकाले क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघातलगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।

स्वास्थ्य शाखाले जनाएअनुसार क्यान्सरका ९०, मिर्गौला प्रत्यारोपणका २८, मुटुका २२ र अन्य रोगका ९ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ । नेपाल सरकारले क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ ।

सरकारले बिरामीलाई सिधै रकम दिँदैन । स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन् । यसैगरी पालिकाले नगर क्षेत्रका २ सय एक बिरामीलाई पाँच हजार रुपैयाँका दरले औषधि उपचार खर्च बापतको रकम वितरण गर्ने तयारी गरेको छ ।

चालु आर्थिक वर्ष २०७९र८० मा नगरमा उपचार माग भएका २०१ जनाको ८७ लाख २० हजार वितरण गर्ने तयारी गरिएको छ । सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक रुपमा ५ हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ । रासस  

प्रतिक्रिया दिनुहोस