
काठमाडौं । “हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकाले संयुक्त सुझावकर्ता सदस्यहरूका तर्फबाट... सरी, म यसलाई फेरि सच्याउँछु, यहाँ माननीयज्यूहरूले पनि दुवैतिर बोलेर अलि रमाइलो गर्नुभयो” राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्योलमा पर्दा उनले उक्त प्रतिक्रिया व्यक्त गरे । राष्ट्रिय सभा र प्रतिनिधि सभामा विधेयक प्रस्तुत हुँदा प्रस्तावको पक्ष र विपक्षमा ध्वनिसङ्केतले मत जाहेर गरिन्छ ।
पक्षमा हुने सदस्यले ‘हुन्छ’ भनेर हात उठाउँदै मत जाहेर गर्छन् भने विपक्षमा हुनेले पनि सोही सङ्केतका आधारमा ‘हुन्न’ भन्दै मत जाहेर गर्छन् । तर यसरी मत जाहेर गर्ने क्रममा पक्ष र विपक्षमा बाँडिएका सदस्य आफैँ अन्योलमा पर्छन् । यसरी सदस्य अन्योलमा परेको सामान्य भए पनि सभाध्यक्ष आफैँ पनि अन्योलमा पर्ने घटना बिरलै देखिन्छ । यस्तै घटना राष्ट्रिय सभाको शुव्रmबारको बैठकमा समेत देखियो ।
आर्थिक विधेयक, २०८० माथि नेकपा (एमाले) का सदस्यले सुझाव प्रस्ताव राखेका थिए । उक्त सुझाव फिर्ता लिन सुझावकर्ताका तर्फबाट राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भनियो । उनले सुझाव प्रस्ताव फिर्ता नलिने बताए । अध्यक्ष तिमिल्सिनाले सुझावकर्ताले प्रस्ताव फिर्ता लिन नचाहेकाले निर्णयार्थ प्रस्तुत गरे । उनले प्रस्तावका पक्षमा हुने माननीयलाई ‘हुन्छ’ भन्नुहोला प्रस्ताव गर्दा सत्तापक्षका सदस्यले समेत हात उठाएर ‘हुन्छ’ भनेर मत जाहेर गरे ।
सभाध्यक्षले प्रस्तावको विपक्षमा हुने माननीयले ‘हुन्न’ भन्नुहोला प्रस्ताव गर्दा सत्तापक्षका सदस्यले ध्वनि सङ्केतमार्फत मत जाहेर गरे । ‘हुन्छ’ भन्नेमा केही र ‘हुन्न’ भन्नेमा सत्तापक्षका सबै सदस्यले ध्वनि सङ्केत गरेपछि सभाध्यक्ष तिमिल्सिना आफैँ अन्योलमा परे । सुझाव प्रस्तावको पक्षमा ध्वनि सङ्केत गर्ने नेपाली कांग्रेसका नारायण दत्त मिश्र, नेकपा (माओवादी केन्द्र) का भुवनबहादुर सुनुवार र राधेश्याम पासवानलगायतका सदस्य थिए ।
प्रतिक्रिया दिनुहोस