
काठमाडौं । ‘पहिलो त्रैमासिक परीक्षा सम्पन्न भयो। शिक्षक नहुँदा पाठ राम्रोसँग पढाइ भएको छैन । अर्थशास्त्र पढाउने शिक्षकले लेखा पढाउन आउनु हुन्छ । आउने जाने मात्र हो । पढाएको फिटिक्कै बुझिँदैन। गणित र अंग्रेजी पढाउने शिक्षक पनि हुनुहुन्न’, कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाई नेपाल राष्ट्रिय माविमा विद्यार्थी गुनासो गर्छन् ।
शैक्षिक सत्र सुरु भएपछि राहत दरबन्दीका तीन शिक्षक नियुक्त नहुँदा पढाइ अलपत्र भएको छ । राहत कोटा अन्तर्गत उच्च मावि तहको लेखा र माध्यमिक तहको अंग्रेजी र गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या देखिएको छ । विद्यालयले वैशाख ११ गते विज्ञापन आह्वान गरेर जेठ ३२ गते लिखित परीक्षा लिएको थि यो।
परीक्षा सकिएपछि दाँत दुख्यो भन्दै व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पाण्डे भागेपछि नियुक्ति प्रक्रिया अलपत्र परेको छ । उत्तर पुस्तिका परीक्षण गरेर नजिता प्रकाशन गर्ने बेला भागेका अध्यक्षलाई लिन गएका विद्यालयका प्रअ बाबुराम थारु सम्पर्क बिहीन भएपछि उत्तर पुस्तिका मुचुल्का गर्दै प्रहरीलाई बुझाइएको बुद्धभूमि नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।
पालिका र विषय विज्ञले मुचुल्का उठाएर इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा उत्तर पुस्तिका बुझाइएको थियो । अन्दाजी १० बजे राति उत्तर पुस्तिका प्राप्त भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए । बुझाइएको उत्तर पुस्तिका लिन अहिलेसम्म कोही पनि नआएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस