aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आजदेखि जयनगर–बिजलपुरासम्म रेल सञ्चालन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ असार २०८०
आजदेखि जयनगर–बिजलपुरासम्म रेल सञ्चालन हुने
फाइल फोटो

वीरगन्ज । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गते अर्थात आज आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । 

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गरेका थिए । 

“ट्रयाक हस्तान्तरण गरिसकेको छ, अब जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन गर्न लागेका छौँ”, महाप्रबन्धक झाले भन्नुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । हाललाई कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक सेवा प्रदान गरिने उनले बताए । 

कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । “जग्गा मुआब्जालगायत कारण बिजलपुरा भङ्गहाबाट बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ”, नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्रकुमार साहले भने, “कतिपय ठाउँमा सडक छ, तर नक्सामा छैन, तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् ।” यही कारणले बिजलपुराबाट बर्दिबाससम्म रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।”  

मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म पनि रेल चल्ने साहले भन्नुभयो । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

विसं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।  

नेपालमा रेल सञ्चालनका लागि भारतीय जनशक्ति र भारतमै इन्धन भर्नुपर्ने बाध्यताबाट मुक्त गरी नेपाली रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाल रेल्वे कम्पनीले विभिन्न योजना अघि बढाएको महाप्रबन्धक झाले बताए । तत्काल स्थायी कर्मचारीको सङ्गठन संरचना निर्माण, वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण तथा जयनगर कुर्था खण्डमा कार्गो रेल सेवा सञ्चालनको तयारी सुरु गरिएको महाप्रबन्धक झाले बताए ।  

प्रतिक्रिया दिनुहोस