गण्डकी । जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर, यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् ।
पोखरा महानगरपालिका १५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन् । भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगेका थिए । उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे ।
“अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउनुहुन्थ्यो”, उनले भने, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।”
उनी अष्ट्रेलियामा काम गर्दा मासिक रु दुई लाख आम्दानी गर्थे । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्केका थिए । छ वर्ष अघि स्वदेश फर्केका उनले मासिक रु ७० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् भने तीन जनालाई जागिर पनि दिएका छन् ।
होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, “पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।” आर्टसमा समेत रुचि राख्ने उहाँले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए ।
उनीसंग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहेका छन् । उनीहरुले मासिक रु १७ हजारका दरले पारिश्रमिक पाउछन् । “मेरोमा काम नभएको समयमा उहाँहरु अन्यत्र काम गर्न जानुहुन्छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस