aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
जन्ती राख्न विद्यालय बन्द, बन्द गर्न वडाध्यक्षकै सिफारिस

जन्ती राख्न विद्यालय बन्द, बन्द गर्न वडाध्यक्षकै सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६
जन्ती राख्न विद्यालय बन्द, बन्द गर्न वडाध्यक्षकै सिफारिस

धनुषा । यहाँको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो ।


नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै जन्ती राख्नैका लागि ६ दिन विद्यालय बन्द भइसकेको छ । यसअघि वैशाख ३ र ४ तथा ११ र १२ गते बिदा दिइएको थियो । तीनै पटक वडाध्यक्षको लिखित सिफारिसमा बिदा दिइएको प्रधानाध्यापक प्रेमलाल पासवानले बताए । ‘गाउँमा छोरीको विवाह हुँदा स्थानीयले विद्यालयमै जन्ती राख्ने गरेका छन्,’ पासवानले भने ।

कक्षा ८ सम्म पढाइ हुने यो विद्यालय नगराइन नगरपालिकाको ७ र ८ वडाको बीचमा पर्छ । दुवै वडाका स्थानीयले वडाध्यक्ष मुखियाको सिफारिस ल्याउने गरेको पासवानले बताए ।

शिक्षक बिल्टु मण्डलका अनुसार जन्ती राख्न विद्यालयले नमानेपछि स्थानीयले वडाध्यक्षको लिखित सिफारिस ल्याएका हुन् । जन्ती राख्दा पटक–पटक विद्यालय बन्द गर्नुपरेको उनले बताए । ‘जन्तीले विद्यालय परिसरमै मदिरा सेवन गरेर खाली बोतल फाल्ने, खाजाका प्याकेट, चिया गिलास, पराललगायत फोहोर फाल्छन्,’ उनले भने, ‘जथाभावी शौचसमेत गरिदिन्छन् ।’

नगराइन नगरपालिका–१ को आधारभूत विद्यालय हाँसपट्टी र लक्ष्मीनियाँ गाउँपालिका–३ को जनता निमाविमा पनि विद्यालयमै जन्ती राखेर भोजभतेर गर्ने गरिएको छ । विद्यालयमा जन्ती राख्दा विद्यार्थीलाई मनोवैज्ञानिक असर परेको स्थानीय बताउँछन् । कान्तिपुर दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस