
काठमाडौं । चाडपर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागिएको हो ।
महाशाखाका अनुसार सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको छ । हाल ३६८ स्थानमा नियमित जाँचका लागि ७५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४३० जनशक्ति थप गरिएको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुंगा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको हो ।
जाँचका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरे-नगरेको, लामो दूरीका सवारी साधनमा दुई चालक भए(नभएको, सवारी साधनभित्र भाडादर राखे/नराखेको, मोटरसाइकलले हेल्मेटको प्रयोग गरे-नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे-नराखेकोलगायतका कुरा हेर्नेछ । चाडपर्वको समयमा तीव्रगतिमा सवारी साधन चलाउने चालकलाई कारवाही गर्ने महाशाखाले जनाएको छ ।
यसैगरी, यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको यात्रु सहायताकक्षमा समेत ट्राफिक प्रहरी खटाउने महाशाखाले जनाएको छ । नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षणसमेत गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस