काठमाडौं । पुर्व निर्धारित कार्यक्रम अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली आज (आइतबार) मध्यरात देखी लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले गरेको सो निर्णय निगमले एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
निगमका अनुसार स्वचालित मूल्य अनुसार यस पटक पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मुख्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४–४ रुपैयाँ मूल्य घट्नेछ भने ग्याँसमा १० रुपैयाँ घट्नेछ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम भएको छ ।
स्वचालित प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ । हवाई इन्धनको मूल्य भने स्वचालित हुने छैन ।
यससँगै अब काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोल लिटरको १६४ रुपैयाँ पर्नेछ । तराईका जिल्लाहरूमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १६३ रुपैयाँ पर्नेछ । त्यसैगरी, डिजेल र मट्टितेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरूमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ रहने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस