aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनहरुको घुइँचो (फोटो फिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ साउन २०८०
आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनहरुको घुइँचो (फोटो फिचर)

काठमाडौं । आज साउनको पहिलो सोमबार । पशुपतिनाथको मन्दिर लगायत शिव मन्दिरहरुमा हिन्दु धर्मावलम्बीहरुको आज बिहानैदेखि भीड लागेको छ ।

हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।  

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको व्यवस्थापनका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्थापन गरिएको छ । 

साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको छ । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिएका छन्। महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ।  

 


 

प्रतिक्रिया दिनुहोस