aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘दोहा कार्ययोजना समयमै कार्यान्वयन गर’ : नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ साउन २०८०
‘दोहा कार्ययोजना समयमै कार्यान्वयन गर’ : नेपाल

काठमाडौं । नेपालले अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी) हरूका लागि घोषणा गरिएको दोहा कार्ययोजना पूर्ण कार्यान्वयन गर्न र नवप्रवर्तन तथा प्रविधि हस्तान्तरण मार्फत् संरचनात्मक रूपान्तरण हासिलमा सघाउन विश्व समुदायलाई आग्रह गरेको छ । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी अमेरिका पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सो मञ्चमा अल्पविकसित देशहरूका तर्फबाट सम्बोधन गर्दै बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचना सुधार आवश्यकतामा जोड दिएका हुन्‌ । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावहरू प्रकास पार्दै अल्पविकसित राष्ट्रहरूमा एसडीजीहरूको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने पनि बताए ।

उपाध्यक्ष श्रेष्ठले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिँदै एलडीसीहरू विश्वव्यापी महत्वको केन्द्रविन्दुमा हुनुपर्ने र यी मुलुक सफल भएमात्रै एसडीसीहरू सफल हुने दाबी गरे । 

उच्चस्तरीय राजनीतिक मञ्‍चमा सहभागी हुन नेपाली टोली १३ जुलाईमा न्यूयोर्क पुगेको थियो । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा संघीय सांसद सदस्य तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला र माओवादी सांसद माधव सापकोटा, योजना आयोगका सदस्य-सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अधिकारीहरू र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरू सहभागी छन् ।

यस अघि उपाध्यक्ष नेतृत्वको प्रतिनिधिमण्डल मञ्चको तीनदिने उच्चस्तरीय सम्मेलनको उदुघाटन शत्रमा समेत सहभागी भएका थिए । फोरममा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरूको सहभागीता छ ।

प्रतिक्रिया दिनुहोस