aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारत-यूएई सम्झौता : डलरको साटो दिराम र भारुमै लेनदेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ साउन २०८०
भारत-यूएई सम्झौता : डलरको साटो दिराम र भारुमै लेनदेन

एजेन्सी । नेपालको दक्षिणी छिमेकी मुलुक भारतले संयुक्त अरब इमिरेट्स (युएई) सँग अमेरिकी डलरको साटो भारुमै लेनदेन गर्ने सम्झौता गरेको छ । यस्तो लेनदेन निम्ति दुबै देशले रियल टाइम पेमेन्ट लिंक पनि तय गरेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत शनिबार यूएई भ्रमण गरेका थिए । यूएईसँग तेल लगायत महत्वपूर्ण कमोडिटी र वित्तीय कारोबार गर्ने गरेको भारतले भारुमै कारोबार गर्न गरेको सम्झौतालाई आर्थिक क्षेत्रले निकै महत्वसाथ हेरेको छ । 

भारतीय पत्रिका द हिन्दूसँग कुराकानी गर्दै यूएईका राजकुमार अब्दुलनासेर अलशालीले मोदीको एकदिने भ्रमण क्रममा यूएई सेन्ट्रल बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाबीच यस्तो सम्झौता भएको जानकारी दिए । साथै, अबुधाबीमा भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस खोल्नेबारे पनि सम्झौता भएको उनले बताएका बीबीसी हिन्दीमा उल्लेख छ । 

युएईका राष्ट्रपति मोहम्मद जायेद आगामी सेप्टेम्बरमा हुने जी–२० सम्मेलनमा भारत लिन भारत आउँदैछन् । भारतीय प्रधानमन्त्री मोदीले पनि नोभेम्बरमा अबुधाबीमा हुने कोप–२८ सम्मेलनमा भाग लिने प्रतिबद्धता जनाएका छन । 

यसअघि भारतले रूससँग रुपये र रुबेल तथा इरानसँग रुपये र रियालमा कारोबार गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । तर, सो सम्झौता कार्यान्वयनमा भारतले अहिले कठिनाइ भोगिरहेको छ । इरानले सो सम्झौता लागू गर्न माग राखिरहेको छ । 

रूस–युक्रेन युद्ध यता कयौं देशले अमेरिकी डलरमा भइरहेको कारोबारको विकल्प खोजिरहेका छन्‌ । चीनले विभिन्न देशमा ती देशको मुद्रा र चिनियाँ युआनमा कारोबार सम्झौता गरिरहेको छ भने अन्य विकसित र उदयीमान अर्थतन्त्रहरूले आ–आफ्नै मुद्रालाई लेनदेनको मध्यस्थ मुद्रा बनाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस