aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मोदी निकट व्यापारी अडानीले भने : ‘अमेरिकी रिपोर्टले क्षति पुर्‍यायो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ साउन २०८०
मोदी निकट व्यापारी अडानीले भने : ‘अमेरिकी रिपोर्टले क्षति पुर्‍यायो’
#भ्रष्टाचार

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट व्यापारी गौतम अडानीले अमेरिकी हिन्डनबर्ग रिपोर्टले आफूहरूको छवि र व्यापारमा क्षति पुर्‍याएको बताएका छन् । गत जनवरीमा अमेरिकी रिसर्च एजेन्सी हिन्डनबर्गले एक रिपोर्ट सार्वजनिक गर्दै भारतीय व्यापारी एवम् उद्योगपति अडानीले सत्ता र शक्तिको आडमा भयानक आर्थिक घोटाला गरेको आरोप लगाएको थियो । 

मंगलबार (आज) बसेको अडानी समूहको बैठकमा अडानी हिन्डनबर्ग रिपोर्टबारे बोलिरहेका थिए । उनले भने, ‘यस वर्ष हामी भारतकै इतिहासमा सबैभन्दा ठूलो एफपीओ (थप सार्वजनिक निष्काशन) तयारी गर्दै थियौं । त्यतिखेर नै अमेरिकामा एक रिपोर्ट छापियो । सो रिपोर्टम गलत जानकारी र हाम्रो छवि थप खराब पार्ने आरोप लगाइएको थियो ।’ 

हिन्डनबर्ग रिपोर्टमा धेरैजसो आरोप सन् २००४ देखि २०१५ सम्मको भएको अडानीले दाबी गरेका छन् । सो समयमा अर्थात् सन् २०१३ सम्म भारतमा कांग्रेसको सरकार थियो । यस मानेमा वर्तमान सत्ताधारी भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निकट भई निकै ठूलो भ्रष्टाचारमा मुछिएको आरोप खेपेका अडानीले बैठकमा घुमाउरो शैलीमा आफूले कांग्रेसकै पालामा भ्रष्टाचार गरेको, तर अहिले नगरेको पुष्टि गर्न खोजेको भारतीय विश्लेषकहरू बताउँछन् । 

हिन्डनबर्ग रिपोर्ट सार्वजनिक भएलगत्तै अडानी समूहको शेयरमूल्यमा गिरावटको रेकर्ड बनेको थियो । संसारकै धनाढ्यको शीर्ष स्थानमा रहेका अडानीको वरीयता पनि निकै खस्केको थियो ।

रिपोर्ट सार्वजनिक भएपछि अडानी एफपीओ जारी गर्नबाट पछि हटेका थिए ।

प्रतिक्रिया दिनुहोस