aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मर्मत गरेको ५ घण्टामै बिग्रियो ‘सगरमाथा’, अक्सिजन नहुँदा १५२ यात्रु अलपत्र !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ साउन २०८०
मर्मत गरेको ५ घण्टामै बिग्रियो ‘सगरमाथा’, अक्सिजन नहुँदा १५२ यात्रु अलपत्र !

काठमाडौं । विमान खरिददेखि सञ्चालन र बिक्रीसम्म घोटाला गर्ने गरेका नेपाल वायुसेवा निगम (एनएसी) का अधिकारीहरूले सञ्चालनमा रहेको न्यारोबडी विमान सगरमाथामा रमिता देखाएका छन् । मर्मत गरेको ५ घण्टाभित्रै विमान बिग्रिएको भन्दै १५२ यात्रुलाई निगमले क्वालालम्पुरमा अलपत्र पारेको छ । 

सोमबार बेलुकीमात्रै नाइन एन–एकेडब्ल्यू कलसाइन भएको सो विमान काठमाडौंमा मर्मत गरिएको थियो । लगत्तै सोमबार राति १० बजे विमानले काठमाडौं–क्वालालम्पुर उडान भरेको थियो । 

तर, क्वालालम्पुरमा अवतरण हुनासाथ विमानमा समस्या आएको भन्दै उतै ग्राउन्डेड गरिएको हो । निगमस्रोतका अनुसार विमानको ककपीट (पाइलट रहने स्थान) मा अक्सिजन सकिएको भन्दै विमान क्वालालम्पुरमै थन्क्याइएको छ । सो विमानले मंगलबार बिहान ९ः३५ मा क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौंसम्म १५२ यात्रु बोकेर उडान भर्ने तालिका थियो । 

हाललाई विमान ग्राउन्डेड गरिएपनि चेकजाँच गरेर उडान भर्ने भनिएको निगमका एक अधिकारीले आर्थिकन्यूजलाई बताए । 

‘ककपीटमा आवश्यक पर्ने भनिएको अक्सिजन व्यवस्थापन गर्न एअर एसियासँग सहयोग मागिएको छ,’ उनले भने, ‘अघिल्लोपटक कस्तो मर्मत गरिएको हो, हामी नै अचम्ममा परेका छौं । विमानमा समस्या आएको देखाउने, यात्रु बिचल्ली पार्ने र मर्मत बहानामा कमाउधन्दा चलाउने काम अब नियमित भैसकेको छ । यो पटक कसलाई कति लाख चाहिएको थियो, त्यसैले विमान बिग्रियो ।’

प्रतिक्रिया दिनुहोस