काठमाडौं । नुवाकोटको बञ्चरेडाँडा र सिसडोलबासीले अवरोध जारी राखेपछि भोलि (बुधबार) देखि काठमाडौं उपत्यकाको फोहर नउठ्ने भएको छ । हाल उपत्यका लगायत झण्डै १ दर्जन नगरको फोहोर विसर्जन बञ्चरेडाँडा र सिसडोलमा गरिँदै आएको छ ।
नुवाकोटको ककनी गाउँपालिकाले चालू आर्थिक आर्थिक वर्षको पहिलो दिनदेखि फोहर बोकेर जाने प्रत्येक गाडीबाट १५ सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । सो निर्णयको चौतर्फी विरोध भएपछि सोही गाउँपालिकाका स्थानीयले साउन १ गते (हिजो) देखि नै फोहर बोकेका गाडीलाई ल्याण्डफिल साइटसम्म जान दिएका छैनन् ।
यता, सर्वाेच्च अदालतले पनि फोहर विसर्जन गर्ने टिप्परसँग शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । नुवाकोटका स्थानीयले सर्वोच्चकै आदेशको समेत अवज्ञा गर्दै फोहर बोकेका टिप्परलाई रोकिदिएका हुन् ।
बाटैमा अवरोध भएपछि भोलिदेखि फोहर बोकेका गाडी ल्याण्डफिल साइटतर्फ नै नपठाइने फोहरमैला व्यवस्थापन संघले जानकारी दिएको छ । सोही संघले फोहर व्यवस्थापनमा अवरोध गर्ने बञ्चरेडाँडा र सिसडोलका स्थानीयविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेको थियो ।
सोमबार पनि बञ्चरेडाँडा र ककनीका स्थानीयले फोहर बोकेका ३० गाडी ल्याण्डफिल साइट नपुग्दै बाटोबाटै फर्काइदिएका थिए । अवरोध जारी रहेपछि मंगलबार भने काठमाडौंबाट नै फोहर बोकेका ट्रक नपठाइएको हो ।
उपत्यकाबाट दिनहुँ करिब ३८० ट्रक फोहर बञ्चरेडाँडामा पठाइन्छ । काठमाडौंमा सोमबार र मंगलबार संकलन गरिएको फोहर काठमाडौं महानगरपालिकाको टेकुस्थित ट्रान्सफर स्टेशन र ट्रकमै राखिएको छ ।
फोहर नउठ्दा के गर्ने ?
फोहर फाल्ने ल्याण्डफिल साइटकै स्थानीय सरकार र स्थानीयबासीले अवरोध गरिरहेकाले नयाँ सम्झौता या निर्णय नभएसम्म उपत्यकाको फोहर व्यवस्थापन नहुने देखिन्छ । फोहर नै नउठ्दा घर-टोलमा दुर्गन्ध फैलने र रोगव्याधीको प्रकोप बढ्ने जोखिम छ । हालको गर्मीयाममा फोहरबाट उत्सर्जन हुने दुर्गन्धका कारण स्वासप्रश्वासमै समस्या पर्ने निश्चित छ ।
यस्तो अवस्थामा महानगरबासी आफैंले सकेको हदसम्म फोहर व्यवस्थापन गर्न सकिन्छ । कुहिने र नकुहिने फोहर छुट्याइ कुहिने फोहोरको आयतन कम गर्ने, जमिन या कौशीखेति गरिरहेकाले कुहिने फोहर मलका रूपमा प्रयोग गर्ने तथा भान्सामा शुरूमै सकेसम्म कम फोहर उत्सर्जन गर्नेगरी सामान र तरकारी खरिद गर्दा फोहर व्यवस्थापनमा सहज हुनेछ ।
प्रतिक्रिया दिनुहोस