
भैरहवा । सिद्धार्थनगर नगरपालिकाका चोक-चोकमा हाल मापदण्ड विपरीत धमाधम भवन निर्माण भइरहेका छन् । भैरहवाको मुख्य चोक देवकोटा चोकमा सीताराम उप्रेतीले बनाएको भवन पालिकाको मापण्डभन्दा बाहिर छ । एसआर कम्प्लेसले माथिल्लो तला नक्सा पास नगरी बनाएको पाइएको हो ।
लुम्बिनी रोडमा बन्दै गरेको होटल बुद्ध स्टार अग्नी सिमेन्टका सञ्चालक राजकुमार पोखरेलको हो । उनले अगाडिको भागको अस्थायी नक्सा लिएर पछाडि नक्सा नबनाई ठूलो भवन बनाएका हुन् ।
१ तले घर बनाउनेहरूलाई नक्सा पास नहुँदा रोक्ने नगरपालिकाले मापदण्ड मिचेर ठूला भवन बनाउँदा रोक लगाउन समेत सकेको छैन ।
नारायणस्थानमा रहेको डा. ज्ञानदेव हटुवालको शाश्वत भवनको नक्सा पास भए पनि मापदण्ड विपरीत रहेको नगरपालिकाका कर्मचारीहरू बताउँछन् । देवकोटा चोकमा रहेको राम थापाको यति होटल पनि सार्वजनिक जग्गामा मापदण्ड विपरीत बनाइएकोे छ ।
गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नजिक बुद्ध रिजेन्सी प्रा.लि. को नामबाट होटल बनिरहेको छ । उक्त भवन नरेन्द्र गुप्ता, सुनिल अग्रवाल र पवन सरावली लगायतको संयुक्त लगानीमा भएपनि अहिलेसम्म नक्सा पास गरिएको छैन । सिद्धार्थनगर नगरपालिकाको जनकपथ सडक ८२ फूटको छ । हालसालै बनेको गुलमोर रेष्टुरेन्ट सञ्चालन भएको भवन पनि नक्सा पास नै नगरी बनेको छ ।
स्थानीय मोजिब अली चुनावका बेला नेताहरूले व्यापारीबाट रकम लिने गरेकाले उनीहरू पूँजीपतिहरूले कानून मिचेर गतिविधि गर्दा पनि कारबाही गर्न नचाहेको बताउँछन् । कानून नमान्नेलाई नगरपालिकाले कारबाही दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।
आर्थिक रूपमा कमजोर भएका व्यक्तिलाई नगरपालिकाले दबाब दिने र आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई केही गर्न नसकेको सामाजिक अभियानता प्रख्यात बन्जाडे बताउँछन् । स्थानीय स्वायत्त शासन अनुरूपका कानून सबैलाई बराबर भएकोले कानूनमा भएको कुरा कार्यान्वयन गराउनुपर्ने उनको भनाइ छ ।
शहरी विकासले तोकेको मापदण्ड अनुसार भवन बनाउँदा व्यवसाय गर्न सहज हुनका साथै नगरको सौन्दर्यकरण हुने भवन तथा संरचनाविद् वरिष्ठ इन्जिनियर शैलेन्द्रकुमार श्रेष्ठ बताउँछन् । मापदण्ड अनुसार नहुँदा कमसल हुने र भूकम्प जस्ता प्राकृतिक प्रकोप आउँदा जनधनको क्षति हुने श्रेष्ठको भनाइ छ ।
भैरहवाको देवकोटा चोकमा रहेको सीताराम उप्रेतीको एस आर कमप्लेकस र ८२ फूटको सडक भएको जनकपथस्थित गुल्मोहर रेष्टुरेण्ट सञ्चालन भएको भवन नगरपालिकामा दर्ता भए पनि नेपाल सरकारको मापदण्ड अनुसार छाड्नुपर्ने बाटो नछाडी भवन निर्माण गरेको नक्सा शाखा प्रमुख मानबहादुर श्रेष्ठ बताँउछन् ।
लुम्बिनी गेट अघि निर्माणाधीन बुद्ध स्टार पाँच तारे होटलले नगरपालिकाबाट स्थायी अनुमती नलिएको र पछाडि थपेको संरचनाको नक्सा नै स्वीकृत नगराएको नगरपालिकाका नक्सा शाखा प्रमुख श्रेष्ठ बताउँछन् । सो होटल अग्नि सिमेन्टका सञ्चालक राजकुमार पोखरेलको हो ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नजिकको नरेन्द्र गुप्ता, सुनिल अग्रवाल र पवन सरावली लगायतको संयुक्त लगानीमा होटल बुद्ध रिजिनल होटलले निर्माण कार्य सम्पन्न गरे पनि नक्सा पास नभएको श्रेष्ठ बताउँछन् । देवकोटा चोकमा रहेको भोज बहादुर खत्रीको होटल सिटी सेन्टरले चार तलाको नक्सा बनाएर ६ तला बनाएको श्रेष्ठले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खाँनले नगरभित्र दैनिक ठूला ठूला भवन मापदण्ड विपरीत बनिरहदा आफूलाई केही थाहा नभएको बताउँछन् ।
यती ठूलो कुरा नगरप्रमुखलाई थाहा नहुनु भनेको नगरप्रमुखले नै मापदण्ड विपरीत बनिरहेका भवनको संरक्षण गर्न खोज्नु हो । नक्सा शाखाले सबै विवरण पेश गरेको भनिरहँदा नगप्रमुखले आफूले कुनै विवरण नपाएको दाबी गर्छन् । जसले सरासर जनप्रतिनिधि र कर्मचारीको तालमेल नभएको देखाँउछ ।
नगर प्रमुख खाँनले जुन दिन आफूसँग सबै विवरण आउँछ, त्यस दिन नै बोर्ड बैठक बसेर बोर्डको सल्लाह अनुसार ती मापदण्ड विपरीतका भवनमाथि कारबाही अघि बढाउने बताउँछन् ।
मापदण्ड विपरीत बनेका भवनमाथि काम कारबाही गर्ने अधिकार स्थानीय सरकारलाई रहेको र अटेरी गर्ने भवनहरूमाथि डोजर चलाउने र क्षतिपूर्ति तिराउन मिल्ने कानून रहेको वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेल बताउँछन् ।
सिद्धार्थनगर नगरपालिकाले कानूनको पालना गराउन नसेको र अनुगमन नगरेको बताउँदै भवन बनेपछि मात्रै मापदण्ड अनुसार भएन भन्ने गरेको अधिवक्ता गौडेलले बताए ।
सिद्धार्थनगर नगरपालिकामा यी त नमूनामात्रै हुन् । नगरपालिकाले हालसालै मापदण्ड विपरीतका ठूला भवनबारे गरेको अध्ययन प्रतिवेदनमा १४ वटा भवन मापदण्ड विपरीत रहेको नगरपालिका प्रशासनले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा नगर सभाको बैठक बस्ने र नगर सभामा मापदण्ड विपरीतका भवन भत्काउने निर्णय गरेर काम कारबाही अगाडि बढाउने नगरपालिका प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस