अर्जेन्टिनाले चिनियाँ मुद्रा युआनमा हालै आफ्नो ऋण चुक्ता गरेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चिनियाँ युआनलाई विश्व अर्थतन्त्रको बलियो मुद्राको रूपमा स्वीकार गर्न सक्ने सङ्केत दिएको छ। आईएमएफका प्रवक्ता जुली कोजाकले गएको बिहीबार अर्जेन्टिनाले आफ्नो ऋणको केही अंश चिनियाँ मुद्रामा भुक्तान गरेको पुष्टि गरेकी हुन् ।
अर्जेन्टिनाले गत महिना परिपक्व भएको २.७ अर्ब डलरमध्ये १.१ अर्ब डलर बराबर आईएमएफलाई बुझाएको हो । "हामीले विगतमा भने झैँ अर्जेन्टिनाका अधिकारीहरूले आईएमएफप्रतिको आफ्नो वित्तीय दायित्वहरू भुक्तानी निरन्तर जारी राखेका छन्," सुश्री कोजाकले पत्रकार सम्मेलनमा भनिन्। "आरएमबी पाँच वटा स्वतन्त्र रूपमा प्रयोगयोग्य मुद्राहरू मध्ये एक हो जुन यसका सदस्यहरूले आईएमएफसँगको आफ्नो दायित्व भुक्तानीमा प्रयोग गर्न सक्छन्," उनले चिनियाँ मुद्राको आधिकारिक नाम आरएमबी उल्लेख गर्दै थपिन्।
उनले आइएमएफले चीनबाट अर्जेन्टिनालाई आफ्नो बक्यौता तिर्न चिनियाँ केन्द्रीय बैंकसँग स्वाप लाइन प्रयोग गर्न अनुमति दिने चिठी प्राप्त गरेको भन्ने कुरा भने अस्वीकार गरिन्। "हाम्रो टोलीले पाँचौँ प्रगति समीक्षा पूरा गर्न अर्जेन्टिनाका अधिकारीहरूसँग गहन रूपमा काम गरिरहेको छ । पत्रमा रहेका केही अन्य प्रश्नहरूको सन्दर्भमा हाम्रो बुझाइ यो छ कि त्यस्तो कुनै पत्र छैन," कोजाकले थपिन्।
अर्जेन्टिनाको केन्द्रीय बैंकले गत महिना चीनसँग १३० बिलियन युआन स्वाप लाइनलाई अर्को तीन वर्षको लागि नवीकरण गर्ने सम्झौतामा हस्ताक्षर गर्यो । अर्जेन्टिनाको अर्थ मन्त्रालयका अनुसार स्वाप एकल किस्तामा हुनेछ र कुनै पनि प्रकारको वित्तीय सञ्चालनको लागि स्वतन्त्र रूपमा उपलब्ध हुनेछ । यससँगै अर्जेन्टिनाले भविष्यमा युआन मार्फत थप कार्यहरू गर्ने जनाएको छ।
उसले युआनलाई बैंकहरूमा बचत जम्मा गर्न र खाताहरू संचालन गर्न स्वीकृत मुद्राको रूपमा समावेश गरेको छ । जसले अमेरिकी डलरले प्राप्त गरेको एक मात्र आधिकारिक रिजर्भ मुद्राको प्रतिस्थापनको सङ्केत गरेको छ ।
यो कदम दक्षिण अमेरिकी राष्ट्रको विदेशी मुद्रा सञ्चितिमा गम्भीर खडेरी परेका बेला अगाडी सारिएको हो । जसले यसको डलर आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको अन्न निर्यात र पेसो वार्षिक मुद्रास्फीति १०९ प्रतिशतको रहेकोमा सो भारलाई कमी गराएको छ ।
अक्टोबरमा आम चुनाव हुनु अघि अर्जेन्टिनाको सरकारले ऋण भुक्तानी गर्न, व्यापार लागतहरू कम गर्न र आइएमएफसँगको ४४ बिलियन डलर ऋण कार्यक्रम मार्फत आर्थिक लक्ष्यहरू पूरा गर्न रिजर्भ पुनर्निर्माण गर्ने प्रयास गरिरहेको छ।
अर्जेन्टिना बाहेक ब्राजिलले पनि यस वर्षको सुरुमा चीनसँग एउटा सम्झौतामा हस्ताक्षर गर्यो जसले उनीहरूलाई अमेरिकी डलरको प्रभुत्व घटाउँदै आफ्नै मुद्रामा व्यापार र लगानी गर्न अनुमति दिनेछ। न्यूयोर्कस्थित सञ्चार फर्म भेस्टेडका प्रमुख अर्थशास्त्री मिल्टन इजरातीको विश्लेषण अनुसार यो सम्झौता युआनलाई अन्तर्राष्ट्रिय मुद्राको रूपमा माथि उठाउने प्रयास हो । तर पनि, "युआन डलर जस्तो अन्तर्राष्ट्रिय रिजर्भ मुद्रा बन्नबाट धेरै टाढा छ। "
इजरातीका अनुसार चीनसँग युआनमा वित्तीय व्यवस्थालाई समर्थन गर्ने वित्तीय बजार नै छैन । जुन विश्व रिजर्भ मुद्रा बन्न चाहिने आधारभूत आवश्यकताहरू मध्ये एक हो।
"यदि विश्वको रिजर्भ मुद्रा बन्ने हो भने डलर जस्तै विश्वभरका व्यापारीहरूले तपाईँको मुद्रा समात्नु पर्छ । किनभने तिनीहरूले आफ्नो व्यापार गर्ने तरिका यही हो। यदि तिनीहरूले तपाईँको मुद्रा राख्छन् भने तिनीहरूलाई लगानी गर्ने ठाउँ पनि चाहन्छन्," इजरातीले "चाइना इन फोकस"मा लेखेका छन्।
इजरातीले यस्तो अवस्थामा व्यापारीहरूले युआन लगानी गर्ने बजार सुरक्षित गर्न कठिनाइहरू सामना गर्न सक्ने तर्क गरे किनभने चीनले देश भित्र र बाहिर पैसाको प्रवाहलाई नियन्त्रण गर्दछ। (यो सामाग्री विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुको सहयोगमा)
प्रतिक्रिया दिनुहोस