aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नक्कली मुद्रा र सुनसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ साउन २०८०
नक्कली मुद्रा र सुनसहित दुई जना पक्राउ

काठमाडौं । नक्कली मुद्रा र नक्कली सुनसहित दुई जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका ३ बसुन्धाराबाट नक्कली नेपाली तथा भारतीय मुद्रा र नक्कली सुनसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा गोरखा आरुघाट गाउँपालिका १० घर भएका ४८ वर्षीय दुर्गा बहादुर खत्री क्षेत्री र भारत देश लखनउ घर भई काठमाडौं महानगरपालिका १० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् । काठमाडौं बसुन्धारास्थित ३ नम्बर वडा एरिया अन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुन्छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी नक्कली मुद्रासहित सिंहलाई पक्राउ गरी सिंहलाई पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं नागार्जुन नगरपालिका २ सानोभर्‍याङस्थित क्षेत्रीको कोठाबाट नक्कली सुन बरामद गरी क्षेत्रीलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट भारतीय नक्कली नोट जस्तो देखिने २ हजार दरको ४ थान तथा ५ सय दरको ४ थान र  नेपाली नक्कली नोट जस्तो देखिने १ हजार दरको नोट ६ थान, एककिलो फाइनगोल्ड लेखिएको सुनजस्तो देखिने धातु २ थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुन जस्तो पहेलो धातु राखिएको प्याकेट २ सय थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुनजस्तो पहेलो धातुको टुक्रा २० थान, टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता १ सय थान, लेमिनेसन मेसिन १ थान, मोटरसाइकल १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ । 

उनीहरु उपर मुद्रा सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमिति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस