aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
मन्दीको प्रभाव

रङ्गिएनन् मेहन्दीले धेरै महिलाका हात, बिकेनन् चुरापोते र साडीकुर्ता

  • रिता राउत
    रिता राउत
  • बुधबार, ०३ साउन २०८०
रङ्गिएनन् मेहन्दीले धेरै महिलाका हात, बिकेनन् चुरापोते र साडीकुर्ता

काठमाडौं । न्यूरोड जुद्ध शालिक नजिक सडक पेटीमा बसेर महिलाहरूको हातमा मेहेन्दी लगाइरहेका अङ्कुश क्यामेरा अघि बोल्न हिच्किचाए । उनले सुरुमै भने, 'अहँ ! क्यामेरामा देखिन्नँ । बालेनले फेरि बस्न दिँदैनन् ।’

साउनमा महिलाहरूका हात मेहन्दीका बुट्टाले सजाउने, पहेँला र हरिया चुरापोते लगाउने अनि हरिया रङका साडी र कुर्तामा सजिएर शिव मन्दिर जाने अहिले एक प्रकारको फेसन नै बनेको छ । तर, यो वर्ष त्यस्ता महिलाहरूको लर्को विगत भन्दा निकै कम देखिएको छ ।

त्यसो भए के-कस्तो छ त अहिले मेहन्दी, चुरा, पोते र हरिया साडीको व्यापार ? यही प्रश्नको जवाफ खोज्ने क्रममा काठमाडौँको न्यूरोडमा भेटिएका हुन् अङ्कुश । केही कर गरेपछि छोटो सम्वाद निम्ति तयार बनेका उनी भारत पटनाका बासिन्दा रहेछन् ।

उनका अनुसार यो वर्ष विगतमा जस्तो मेहेन्दी लगाउनेहरूको घुइँचो छैन । ग्राहक घटेका छन् । आर्थिकन्यूजले कारणबारे जिज्ञासा राख्दा रेडिमेट शैलीमा जवाफ दिए, 'मान्छेसँग पैसा नै छैन, अनि कसरी लगाउँछन् मेहेन्दी !'

हिउँदमा विवाहको सिजन र साउनमा हो उनको व्यापार चल्ने । बीचमा लगन नभएका बेला उनी भारत नै जान्छन् । हाल १२ कक्षामा पढिरहेको र पढाइ खर्च जुटाउन काठमाडौँ आउने गरेको उनी बताउँछन्‌।

बुट्टा हेरेर मेहेन्दी लगाएको ५०० देखी १००० रुपैयाँसम्म लिने गरेका छन् उनले । उनका अनुसार यो वर्ष धेरैजसा युवतीहरू र केही संख्यामा महिलाहरू हातमा मेहन्दी लगाउन आउने गरेका छन् ।

सीतापाइला निवासी एक महिला आफ्नी छोरी लिएर न्यूरोडमा मेहेन्दी लगाउन आएकी भेटिइन् । साउनमा मात्र मेहेन्दीले हात सजाउने गरेकी उनी ५०० रुपैयाँका दरले आमाछोरीकै हात सजाउन व्यस्त थिइन् ।

असन भोटाहिटीमा लामो समयदेखि व्यापार गर्दै आएका कनकरत्न तुलाधरले साउन महिनामा विशेषगरी महिलाहरू हरियो र पहेँले कपडा किन्न आउने गरेको अनुभव सँगालेको पनि धेरै भयो । तर, यो वर्ष खासै व्यापार नै नभएको उनले गुनासो गरे ।

तुलाधरले भने, ‘दिनमा दुई चार ग्राहक यसो फाट्टफुट्ट छिर्ने गर्छन् । तर, सबैले किन्छन् नै भन्ने छैन । त्यसैले व्यापारको हिसाबले भन्ने हो भने अहिले व्यापार खासै छैन ।’

आर्थिक मन्दीका कारण धेरै व्यापारीहरू पसल छोडेर भोगेका उनले बताए । उनले भने, 'आर्थिक मन्दीका कारण धेरै व्यक्तिहरू पसल छोडेर भागेका छन् । कारोबार नै छोडेका छन् । होलसेल व्यापारी पनि समस्यामा छन् । रिटेलमा व्यापार भए पो होलसेलरहरू चल्थे । उनीहरूलाई आज कतिको व्यापार भयो सोध्यो भने बोहनी नै नगरेको तीन/चार दिन भयो भन्छन् ।’

मन्दीका कारण ग्राहकहरूले सामान निकै सस्तोमा खोज्ने गरेको उनले बताए । तुलाधरले भने, 'पहिले राम्रो लगाऊँ भनेर धेरैले हजार-बाह्र सयको लुगा खोज्ने गर्थे । तर, अहिले तिनै ग्राहकहरू फेसनअनुसार दुई/चार दिन मात्र लगाउन मिल्ने दुई/तीन सयको कपडा किन्न आउँछन् ।’ 

'पहिले राम्रो लगाऊँ भनेर धेरैले हजार-बाह्र सयको लुगा खोज्ने गर्थे । तर, अहिले तिनै ग्राहकहरू फेसनअनुसार दुई/चार दिन मात्र लगाउन मिल्ने दुई/तीन सयको कपडा किन्न आउँछन्’, तुलाधरले भने । 

काठमाडौं कालीमाटीमा नौ वर्षदेखि व्यापार गर्दै आएका ओमनाथ प्रसाद रौनियारको कथन पनि  उस्तै छ । यस वर्ष साउन विशेष व्यापार खासै नभएको उनी सुनाउँछन् । भन्छन्, 'पोहोर सालको तुलनामा अहिले व्यापार शून्य छ । केही ग्राहकहरू आउँछन्, त्यो पनि सस्तो मूल्यको कपडा देखाउन भन्छन् । सस्तो पाए भने किन्छन्‌ । नत्र उनीहरूले घरमा जे छ-त्यही लगाउने भन्छन् । ग्राहकसँग नै पैसा छैन ।’  

साउनमा पनि हरियो/पहेँलो कपडाको व्यापार बढेन त ? भन्ने प्रश्नमा रौनियार प्रतिप्रश्न गर्छन्,‘मान्छेसँग पैसा भए पो व्यापार हुन्छ । आर्थिक मन्दी छ । खान, लगाउन र बस्नलाई त धौधौ भइसक्यो मानिसहरूलाई । पेट भर्ने की लुगा लगाउने भन्ने बेलामा कहाँबाट खर्च गर्नु ?’  

साउन विशेष व्यापार उत्साहजनक नरहेको न्यूरोडमा फेन्सी पसल सञ्चालन गर्दै आएका राजेश जैशवाल बताउँछन् । उनी भन्छन्, ‘साउन विशेष व्यापार भइरहेको त छ । तर, उत्साहजनक भने छैन । मेरो मात्रै होइन, अन्य साथीहरूको पसलमा पनि व्यापार खासै छैन ।’ महँगी बढेका कारण व्यापार व्यवसायमा मन्दी आएको उनको ठम्याइ छ ।

पोते व्यापारी कासिम उदिनको पनि अनुभव फरक छैन । यो वर्ष पोतेको व्यापार खासै नभएको उनी बताउँछन् । कासिम भन्छन्,'मान्छेहरूसँग अहिले पैसा छैन । पैसा नभएका कारण अत्यावश्यक कुराहरू मात्रै किनिरहेका छन् । पोतेको व्यापार खासै छैन ।’  

अर्का पोते व्यापारी नासिमको भनाइ पनि केही फरक छैन । सात वर्षदेखि न्यूरोडमै पोते व्यापार गर्दै आएका नसिम 'साउने विशेष व्यापार' खासै नभएको बताउँछन् । उनी भन्छन्, 'पहिलेको तुलनामा बजारमा साउन विशेष व्यापार कमै छ । मैले व्यापार गरेको सात वर्षको अनुभवमा कोरोनाको समय बाहेक यो वर्ष सबैभन्दा कम व्यापार भएको छ ।’ 

तस्बिरः श्यामसुन्दर गौरो  

प्रतिक्रिया दिनुहोस