aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एक महिनामा ७५ अर्ब रेमिट्यान्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
एक महिनामा ७५ अर्ब रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा करिब साढे ७५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। यसलाई दैनिक रूपमा गणना गर्दा प्रतिदिन २ अर्ब ५१ करोड रुपैयाँ हुन आउँछ । गत वर्षको साउनको तुलनामा यसपालि रेमिट्यान्स २ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको साउनमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेर ७३ अर्ब ९५ करोड रुपैयाँ  भित्रिएको थियो। 'अमेरिकी डलरमा रेमिट्यान्स ०.७ प्रतिशतले वद्धि भएको छ,' राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ, 'अघिल्लो वर्ष यस्तो आप्रवाह २४ प्रतिशतले बढेको थियो। गत वर्षको सुरुदेखि उच्च दरले बढेको रेमिट्यान्म यो वर्ष पहिलो महिनादेखि नै वृद्धिदर न्यून छ।

गत आर्थिक वर्षमा रेमिट्यान्समार्फत पौने ८ खर्ब रुपैयाँ मुलुक भित्रिएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाल भित्रिएको रेमिट्यान्स करिब १५ प्रतिशतले बढेको हो। आर्थिक वर्ष ०७४/७४ मा ७ खर्व ५५ अर्ब रुपैयाँ बराबर रेमिट्यन्स नेपाल आएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष साढे ८ प्रतिशतको वृद्धि हो। गत आर्थिक वर्षका सुरुका महिनामा रेमिट्यान्स वृद्धिदर उच्च भए पनि पछिल्ला महिनामा निरन्तर रूपमा घट्दै गएको थियो। यो क्रम यस वर्ष पनि देखियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत साउनमा १९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३०.८ प्रतिशतले घटेको थियो। गत वर्षको रेमिट्यान्स आप्रवाह सोही अवधिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करिब २५ प्रतिशत मात्र हो। यसअघि यस्ता अनुपात जीजीपीको २९ प्रतिशतसम्म पुगेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस