एजेन्सी । विश्वका प्रमुख औद्योगिक राष्ट्रको समूह जी–२० बैठक बिना सहमति कुनै घोषणा नगरी टुंगिएको छ । जारी रूस–युक्रेन युद्धको विषयमा सदस्य मुलुकबीच मतान्तर भएपछि भारतको गान्धीनगरमा आयोजित बैठक मंगलबार बेलुकी बिना निश्कर्ष टुंगिएको हो ।
भारतकी वित्तमन्त्री निर्मला सीतारमणले रूस–युक्रेन युद्धबारे आफूहरूबीच साझा धारणा बन्न नसकेको स्वीकार गरेकी छन् । दुई दिने मिटिङ कुनै संयुक्त घोषणा बिनै टुंगिएको उनले सञ्चारमाध्यमहरूलाई जानकारी दिइन् ।
जी–२० मुलुकको अध्यक्षता यो वर्ष भारतले गरिरहेको छ । सोही हैसियतमा भारतले बैठकको सारांश र प्राप्त प्रतिवेदनहरू भने सार्वजनिक गरेको छ । ती कागजातहरूमा बैठकमा भएका कुराकानी र असहमतिका बूँदा समेटिएको छ ।
बैठकमा सहभागी चीन र रूसले युक्रेन युद्धलाई अभुतपूर्व मानवीय संकट भनी लेखिएको बैठकको प्रारम्भिक निचोडमा असहमति जनाएका छन् । सो युद्धले वैश्विक अर्थव्यवस्थामा विद्यमान कमजोरीलाई थप बढाइरहेको वाक्यांशमा पनि यी दुई देशले असहमति जनाएका छन् ।
भारतमा बसेको बैठकले कुनै निचोड ननिकाल्नुलाई अनपेक्षित भने मानिएको छैन । युक्रेन युद्धले देशहरूबीच स्पष्ट कूटनीतिक मतभेद नै निम्त्याएको छ ।
जी–२० सदस्यहरूले ब्ल्याक सी अनाज सम्झौताबाट पछि हटेकोमा रूसको भत्सर्ना गरेका थिए । यही सम्झौतामार्फत युक्रेनले आफूले उत्पादन गरेका खाद्यवस्तु ब्ल्याक सी हुँदै निर्यात गर्ने गरेको थियो । तर, गत सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ले यो सम्झौताबाट हात झिकेका थिए ।
यो सम्झौतालाई खाद्यबस्तु आपूर्तिको कोणबाट विश्वभर नै संवेदनशील सम्झौता मानिएको थियो । रूसले सम्झौताबाट हात झिकेसँगै विश्वका अति गरिब मुलुकहरू थप संकटमा पर्ने देखिएको छ । सम्झौताको कार्यान्वयन अवधि टर्कीको समयअनुसार मंगलबार राति १२ बजे नै समाप्त भैसकेको छ ।
बैठकमा जी–२० मुलुकका अर्थमन्त्री तथा वित्त प्रमुख र केन्द्रीय बैंकका गभर्नरहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस