काठमाडौं । सदस्य राष्ट्रहरूबीच मतभेद चुलिएर बिना निष्कर्ष टुंगिएको जी-२० बैठकमा भाग लिएर फर्किएका अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल टेक्नासाथ सो बैठकमा नेपालले विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी-२० बैठकमा रूस-युक्रेन युद्धबारे विवाद चुलिएपछि कुनै घोषणा नै नगरी मंगलबार बेलुकी टुंगिएको थियो ।
अर्थमन्त्री महत भारतको निम्तोमा जी-२० बैठकस्थल भारतको गान्धीनगर पुगेका थिए । बैठकमा जी–२० र आमन्त्रित मुलुकका अर्थमन्त्री तथा वित्त प्रमुख र केन्द्रीय बैंकका गभर्नरहरू सहभागी थिए । बैठक बिना निष्कर्ष सकिएपछि अर्थमन्त्री महत बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाजबाट उत्रिनासाथ उनले पत्रकार सम्मेलन आयोजना गरे र भने, ‘जी –२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रह्यो ।’
अर्थमन्त्री महतले बैठकमा मूलतः ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको दाबी गरे । उनले भने, ‘पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भयो । दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धी र महत्वका रुपमा लिनुपर्छ ।’
यसरी बिनानिष्कर्ष टुंगिएको थियो बैठक
बैठकमा सहभागी चीन र रूसले युक्रेन युद्धलाई अभुतपूर्व मानवीय संकट भनी लेखिएको बैठकको प्रारम्भिक निचोडमा असहमति जनाएका थिए । सो युद्धले वैश्विक अर्थव्यवस्थामा विद्यमान कमजोरीलाई थप बढाइरहेको वाक्यांशमा पनि यी दुई देशले असहमति जनाएपछि बैठक कुनै घोषणा नै नगरी अन्त्य भयो ।
भारतमा बसेको बैठकले कुनै निचोड ननिकाल्नुलाई अनपेक्षित भने मानिएको छैन । युक्रेन युद्धले देशहरूबीच स्पष्ट कूटनीतिक मतभेद नै निम्त्याएको छ ।
जी–२० सदस्यहरूले ब्ल्याक सी अनाज सम्झौताबाट पछि हटेकोमा रूसको भत्सर्ना गरेका थिए । यही सम्झौतामार्फत युक्रेनले आफूले उत्पादन गरेका खाद्यवस्तु ब्ल्याक सी हुँदै निर्यात गर्ने गरेको थियो । तर, गत सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ले यो सम्झौताबाट हात झिकेका थिए ।
यो सम्झौतालाई खाद्यबस्तु आपूर्तिको कोणबाट विश्वभर नै संवेदनशील सम्झौता मानिएको थियो । रूसले सम्झौताबाट हात झिकेसँगै विश्वका अति गरिब मुलुकहरू थप संकटमा पर्ने देखिएको छ । सम्झौताको कार्यान्वयन अवधि टर्कीको समयअनुसार मंगलबार राति १२ बजे नै समाप्त भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस