aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बसको टिकटको कृत्रिम अभाव सिर्जना गराउँदै, भाडा बढाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
बसको टिकटको कृत्रिम अभाव सिर्जना गराउँदै, भाडा बढाउँदै

काठमाडौं । नेपालीको मुख्य चाड दसैं तथा तिहारमा बसको टिकट पाउनै मुस्किल हुने गरेको छ । काठमाडौं उपत्यकाबाट दसैंतिहार मनाउन देशका विभिन्न ठाउँमा जाने सर्वसाधारणले अहिले पनि सहज रूपमा टिकट पाएका छैनन् । बढी मूल्य असुल्नका लागि टिकटको हाहाकार मच्चाउने गरेको यात्रुको आरोप छ ।

उपत्यकाबाट एकैपटक ठूलो संख्यामा यात्रु बाहिरिने मौकालाई व्यवसायीले बढी रकम असुल्ने मौकाका रूपमा उपयोग गर्ने गरेका कारण यात्रुले सहज रूपमा टिकट पाउन नसकेको रौतहटका विश्वराज यादव गुनासो गर्छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने टिकट अभाव हुन नदिने दाबी गर्छन् । उनले टिकटको अवस्था हेरेर बस थपिने बताए । चाडपर्वमा टिकट ब्ल्याकमा बेचिने तथा बढी भाडा लिने गरेको समेत गुनासो आउने गरे पनि अनुगमन नहुँदा यात्री ठगिने गरेका छन् ।

व्यवसायी तथा ट्राफिक प्रहरीले बढी भाडा लिए तथा ब्ल्याकमा टिकट बिक्री गरे ट्राफिक प्रहरीमा खबर गर्न आग्रह गरेको छ । विभागले आफू जाने ठाउँको भाडादरबारे पूर्वजानकारी राखेर टिकट काट्न जान अनुरोध गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा २६ भदौमा यातायात व्यवसायीसँगको बैठकले ५ भदौबाट टिकट खुलाउने सहमति गरेको थियो ।

उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, सुन्धारा, नागढुंगा, लगनखेललगायतका स्थानमा अग्रिम बुकिङ टिकट वितरण भइरहेको छ । गत वर्ष १५ देखि २० लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए । अहिले सोही संख्यामा उपत्यकाबाट बाहिरिने व्यवसायीको अनुमान छ । दसैंको समयमा एकैचोटि धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले पहिले नै टिकट काट्ने गरिन्छ ।

लामो दूरीका बसका लागि टिकट बुकिङ खुला भए पनि देशैभरको सडकको अवस्था भने दर्दनाक छ । काठमाडौं उपत्यकासहित राजमार्गभरि खाल्टाखुल्टी देखिएका छन् । यातायात व्यवसायीले सडकको मर्मतसम्भार गर्न माग गर्दै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस