aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

झाडु र पोछामा रमाएकी अम्बिका, भन्छिन्– ‘मलाई काम प्यारो छ’

  • रिता राउत
    रिता राउत
  • शुक्रबार, ०५ साउन २०८०
झाडु र पोछामा रमाएकी अम्बिका, भन्छिन्– ‘मलाई काम प्यारो छ’

अम्बिका मल्लिकको दैनिकी झाडु र पोछासंगै सुरु हुन्छ । उनी बिहान ५ बजेदेखि नै यो काममा लाग्छिन् । लामो समयदेखि जिल्ला अस्पताल उदयपुरमा सरसफाइको काम गर्दै आएकी छिन्, उनी । जिल्ला अस्पतालका भवनहरू सफाइमा उनी खटेको एक दशक बितिसकेको छ ।

परिवारमा सदस्यहरू थपिँदै गएपछि उनलाई बिहान बेलुका खान समेत मुस्किल पर्न थाल्यो । परिवार पाल्नकै लागि उनी बजारका घरहरूमा काम खोज्दै जाने गर्थिन् । घरायसी सरसफाइका कामहरू गरेर परिबार पाल्दै आएकी थिइन् ।  

यसैक्रममा एक साथी मार्फत ११ वर्षअघि जिल्ला अस्पताल उदयपुरमा सफाइ गर्ने काम पाइन् । त्यस बेला अस्पतालमा सरसफाइ गरेबापत उनले महिनामा ६ हजार रुपैयाँ पाउँथिन् । अहिले उनी मासिक १६ हजार रुपैयाँ कमाउँछिन् ।    

उनीजस्तै काम गर्ने सोही अस्पतालमा अन्य पनि रहेको सुनाउँदै उनी भन्छिन्, ‘यस्तै काम गर्ने हामी तीन जना छौँ । आ-आफ्नो सिफ्ट हुन्छ । आफ्नो सिफ्टमा बढार कुँडार, पोछा लगाउनेदेखि अपरेसनका लुगाहरू समेत धुन्छु ।’     

कहिलेकहीँ उनको रात्रिकालीन ड्युटी पर्छ । त्यो समयमा उनी काम सकाएर अस्पतालको एउटा कुनामै निदाउँछिन् । राती काम सकेर त्यही अस्पतालको छेउमा आराम गर्दागर्दै निदाउने गरेको अनुभव उनी सुनाउँछिन् । काम प्रतिको उनको लगाव लोभलाग्दो छ । ‘मलाई काम गर्न अल्छी लाग्दैन । मैले राम्रो काम गरेको छु । राम्रो काम गरेन भने कसले राख्छ ? मैले राम्रोसँग काम गरेर नै अस्पतालले मलाई राखिरहेको छ । मलाई काम प्यारो लाग्छ’, उनी भन्छिन् ।     

‘मलाई काम गर्न अल्छी लाग्दैन । मैले राम्रो काम गरेको छु । राम्रो काम गरेन भने कसले राख्छ ? मैले राम्रोसँग काम गरेर नै अस्पतालले मलाई राखिरहेको छ । मलाई काम प्यारो लाग्छ’, उनी भन्छिन् ।    

उनको जन्म त्रियुगा नगरपालिकाको जलजलेमा भएको हो । सानै उमेरमा उनको विवाह आफूभन्दा ९ वर्ष जेठो सोही न.पा. बोक्से निवासी एक पुरुषसँग भयो । ‘मेरो विवाहको पनि ठेगान छैन । सानैमा घर पठाइदियो । कति वर्षको थिएँ भन्ने पनि थाहा छैन । सानै उमेरमा विवाह भएकोले काम गर्न केही आउँदैन थियो । परिवारका अन्य सदस्यहरूले गाली गर्ने कुट्ने गर्नु हुन्थ्यो ।’

उनी अहिले करिब ४० वर्षकी भएको बताइन् । तर, उनले आफ्नो उमेर समेत ठ्याक्कै यति हो भनेर भन्न सकिनन् । ‘ठ्याक्कै कति वर्षको भए भन्ने त थाहै छैन । ४० वर्ष जतिको भए होला । हाम्रो त सानैमा विवाह हुन्छ । सानैमा बच्चाबच्ची जन्मिन्छन्’, उनले भनिन् । 

तीन छोरा र एक जना छोरी गरी उनका चार जना सन्तान छन् । छोरीको विवाह भइसकेको छ । अन्य सन्तान र श्रीमानसहितको परिवारको जिम्मेवारी उनकै काँधमा छ । पढेलेखेकि छैनन्, उनी । तैपनि उनले परिवारको जिम्मेवारी धानिरहेको बताउँछिन् ।

‘सानैदेखि दुख पाएको हो, मैले । अहिले पनि दुख नै छ । दुई वटा छोरा केही काम गर्दैनन् ।  माइलो छोरा यही अस्पतालमा नै काम गर्छ । २० हजार जति कमाउँछ । तर, के गर्नु कमाएको पैसा घर ल्याउन नपाई साथीहरूले खाइदिइहाल्छन्’, उनले गुनासो गरिन् ।    

उनका श्रीमान् प्यारालाइसिसका बिरामी छन् । ‘मेरो बुढो उहिलेदेखि नै काम गर्दैन थिए । अहिले त प्रेसरले हानेर प्यारालाइसिस भएको छ । सामान्य हिँडडुल गर्न मात्रै सक्नु हुन्छ’, उनी भाग्यवादी देखिइन्, ‘अरूको हेरेर हुँदैन । आफ्नो भाग्यमा यस्तै लेखेको रहेछ । जे लेखेको छ त्यही गर्दै छु ।’  

उनले काम गर्न छोडेको दिन बिहान–बेलुकीको हातमुख जोड्न परिवारलाई मुस्किल पर्छ । छाप्रो हाल्नका लागि एक चपरी माटो पनि छैन । जिल्ला अस्पताल नजिक आफन्तसँग ऋण लिएर एउटा सानो बाँसले बेरेर बस्ने घर बनाइएको छ । त्यो पनि अस्पतालको जग्गा हो ।

बाँसको छाप्रो बनाउन समेत ऋण लिनुपरेको विवशता पोख्दै उनले भनिन्, ‘के गर्नु आफूसँग पैसा थिएन । घर बनाएको जग्गा अस्पतालको हो । बसुञ्जेल मात्रै हो । भोली अस्पतालमा काम छोडेँ भने अर्को ठाउँमा गएर बस्ने ठाउँ छैन ।’ 

उनको छाप्रो हाल्नका लागि एक चपरी माटो पनि छैन । बाँसको छाप्रो बनाउन समेत ऋण लिनुपरेको विवशता पोख्दै उनले भनिन्, ‘के गर्नु आफूसँग पैसा थिएन । घर बनाएको जग्गा अस्पतालको हो । बसुञ्जेल मात्रै हो । भोली अस्पतालमा काम छोडेँ भने अर्को ठाउँमा गएर बस्ने ठाउँ छैन ।’

धनको दुख भए पनि उनी सधैँ हँसिलो मुहारमा देखिन्छिन् । ‘दिनभरि काम गर्‍यो परिवारका सबैलाई खानेकुरा खुवायो, त्यति हो । पिर छ, दुख छ तर पनि कसैसँग देखाएको छैन । खुसी नै देखिन्छु । आफू दुखी देखिए छोराछोरी झन् निराश बन्छन्’, उनी भन्छिन् ।   

प्रतिक्रिया दिनुहोस