aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

कांग्रेसको जागरण अभियानः कुटाकुट, गुटैगुट र कारबाहीमा अलमल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
कांग्रेसको जागरण अभियानः कुटाकुट, गुटैगुट र कारबाहीमा अलमल

काठमाडौं । नेपाली कांग्रेसले सरकारले गरेका कमजोरी र गलत कार्यको भण्डाफोर गर्दै कार्यकर्तामा जागरण ल्याउने उद्देश्यले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानमा तयारी नपुग्दा र खास एजेण्डा नहुँदा उपलब्धी थोरै र आलोचना बढी खेप्नु परेको छ । 

पहिलो चरणको अभियानमा कार्यकर्ताले ७७ वटै जिल्लामा खटिएका केन्द्रिय प्रतिनिधिलाई पार्टीको विधान बमोजिम सबै तहका संगठनात्मक संरचनालाई पूर्णता दिएर भातृ संस्थालाई पूर्णता दिँदै नियमावली लिएर दोश्रो चरणको अभियान थाल्न सुझाव दिएका थिए । कार्यकर्ताको सुझाव बमोजिम पार्टी केन्द्रीय कार्य समितिको बैठकले सबै भ्रातृ संस्थालाई पूर्णता दिने सहमति पनि गरेको थियो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेर पार्टी र भातृ संस्थाको सांगठानिक संरचनालाई पूर्णता दिएर मात्र दोश्रो चरणको अभियान संचालन गर्ने भनेका थिए । तर, गत माघ १२ गते भंग भएको नेपाल विद्यार्थी संघ अझै गठन हुन सकेन । पार्टीको नयाँ विधान अनुसार गठन हुनु पर्ने २८ वटा विभाग गठन हुन सकेन भने संघीय संरचना अनुसार प्रदेश कार्यसमिति पनि गठन भएको छैन । 

दोश्रो चरणको जागरण अभियानमा केन्द्रीय प्रतिनिधि र अतिथिहरुले भन्ने कम, सुन्ने बढी नारा नै दिइएको थियो । कार्यकर्ताहरुले हिन्दु राज्यको मागलाई नेतृत्वले बेवास्ता गरेको, गुटबन्दी गरेको, योग्यता र क्षमताको आधारमा मुल्यांकन नगरेको, स्थानीय, प्रदेश र संघीय निर्वाचनमा उम्मेदवारी चयन गर्दा नातावाद, कृपावाद र आफू निकटका लाई मात्र प्राथमिकता दिएको आरोप कार्यकर्ताको थियो । उनीहरुले कार्यकर्तालाई भन्दा पनि नेतालाई जागरण आवश्यक भएको भन्दै गुटगत आधारमा विवाद छताछुल्ल नै भएको छ ।

पार्टीको निर्देशन विपरित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्ला कार्यसमितिको समन्वय बिना नै सिन्धुपाल्चोकको खाडीचौरमा असोज ७ गते बेग्लै कार्यक्रम गरेका थिए । सिन्धुपाल्चोक जिल्लाको लागि पार्टीले पहिलो चरणमै केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको थियो । तर दोश्रो चरणको समापन कार्यक्रमलाई विफल गराउन केन्द्रीय सदस्य बस्नेतले खाडीचौरमा बेग्लै कार्यक्रम गरेका थिए । बस्नेतले सिन्धुपाल्चोकको क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं १ र २ मा केन्द्रीय प्रतिनिधिको रुपमा खटिएका लामाकर्पु तामाङ र मीनकृष्ण महर्जनलाई लिएर बेग्लै कार्यक्रम गरेका थिए । 

कांग्रेस सिन्धुपाल्चोकका सभपाति विकास लामाले जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएका जोशीलाई प्रमुख खतिथि बनाएर सदरमुकामा चौतारामा कार्यक्रम गरेका थिए । अनुशासनहिन काम गर्ने बस्नेतलाई कारबाहीको लागि लामाले सल्लाह गरिरहेको कांग्रेसका एक नेताले बताए । यसअघि पहिलो चरणको जागरण अभियानको उद्घाटन कार्यक्रममा २५ बैशाखमा केन्द्रीय सदस्य मोहन

बस्नेत पक्षधर र जिल्ला सभपाति विकास लामा पक्षधर कार्यकर्ताबीच झडप भए पनि सिन्धुपाल्चोकमा अभियानको कुनै कार्यक्रम गरिएको थिएन् । 
यस्तै जागरण अभियानको दोश्रो चरणको कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तेजुलाल चौधरीलाई घोक्रेठ्याक लगाइएको छ । उनलाई सप्तरीका पार्टी सभापति दिनेश यादव समूहका कार्यकर्ताले मञ्चबाट निकालेका थिए । कार्यक्रममा केन्द्रीय प्रतिनिधि पूर्वकेन्द्रीय सदस्य अजयकुमार चौरसियालाई बनाइएको थियो । विशेष अतिथि पूर्वगृहराज्यमन्त्री रामकुमार चौधरीलाई बनाइएको विषयमा बिबाद गर्ने चौधरीलाई कार्यकर्ताले मञ्चबाट निकालेका थिए ।

जिल्ला सभापति र केन्द्रीय प्रतिनिधिको समन्वयमा भएको असोज ७ गतेको सभालाई वहिस्कार गर्दै सांसद चौधरीले राजविराजको शहिद चौकमा बेग्लै सभा गरेका थिए । चौधरीलाई नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण लगायतका स्थानीय कार्यकर्ताले साथ दिएका थिए । अभियानलाई नौटंकी भन्दै आलोचना गर्ने तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई अध्यक्ष जीतजंग बस्नेतले साधारण सदस्य समेत नरहने गरी हटाई दिएका छन् । साधारण सदस्यबाट समेत हटाइएका शाहीले भने लेटरप्याडको दुरुपयोग गरी अध्यक्ष बस्नेतलाई पनि एक बर्षको लागि निस्कासन गरेको विज्ञप्ती जारी गरेका थिए । 

जागरण अभियानको क्रममा कतै पनि नखटाइएको केही केन्द्रीय सदस्य र सांसदहरु भने गुटगत भेला र कार्यक्रममा क्रियाशिल भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको निर्देशन विपरित असोज ६ गते नै प्युठान जिल्लामा जागरण अभियानको समापन गरेर असोज ७ गते रोल्पा पुगेका थिए । अर्का नेता कृष्णप्रसाद सिटौला भने झापा र सुनसरीको कार्यक्रममा व्यस्त भएका थिए । उपसभापति विमलेन्द्र निधि भने कैलालीमा सभापति देउवा पत्नी डा. आरजु राणासँगै विभिन्न कार्यक्रममा सहभागी भएका थिए । जागरण अभियानको क्रममा चर्चित नेता डा.शेखर कोइराला भने चीन भ्रमणमा गएका थिए ।  आजको युनाइटेड पोष्टबाट
 
 

प्रतिक्रिया दिनुहोस