aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ट्राफिक प्रहरीद्वारा दुई करोड ६२ लाख राजस्व सङ्कलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ साउन २०८०
ट्राफिक प्रहरीद्वारा दुई करोड ६२ लाख राजस्व सङ्कलन

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा रु दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । “जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लङ्घन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ”, उनले भने । गत आवमा कार्यालयले सात सय ७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ३४ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताए । 

यस्तै आव २०७९÷८० मा जिल्लामा एक सय २४ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक सय २९ जना घाइते भएका थिए । सडक दुर्घटनामा परी १० पशुचौपायासमेत मरेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार आठ सय ५५ चालकलाई कारबाही गरेको थियो । उनीहरुबाट रु २८ लाख ५५ हजार राजस्व सङ्कलन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस