काठमाडौं । बिमा समितिले पुँजी पुर्याउन नसकेको भन्दै स्पष्टीकरण सोधेका बिमा कम्पनीहरूलाई बोनस सेयर र हकप्रदबाटै पुँजी पुयाउने अवसर दिएको छ। कम्पनीहरूले समितिमा कार्य योजनाअनुसार नै तोकिएको पुँजी पुर्याउनका लागि काम गरिरहेको स्पष्टीकरण पेस गरेका थिए । उक्त स्पष्टीकरणपछि कम्पनीहरूसँग छलफल गरेर प्रतिबद्धतासहित थप समय दिइएको समितिले जानकारी दिएको छ।
उक्त “स्पष्टीकरण प्राप्त भएपछि कम्पनीहरूसँग छलफल गयौं" समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, “बोनस तथा हकप्रदबाट पुँजी पुयाउने क्रममा रहेकाले केही समय दिएका हौं । समितिले हकप्रद सेयर जारी गर्ने प्रक्रियामा रहेका कम्पनीका संस्थापक, सञ्चालक र आधारभूत सेयरधनीले अग्रीम रूपमा (कल इन एड्भान्स) मा रकम जम्मा गर्न निर्देशन दिएको उनले बताए।
समितिले साउन पहिलो साता ७ वटा कम्पनीलाई पूँजी नपुर्याएकाबारे स्पष्टीकरण सोधेको थियो । समितिले जीवनतर्फ गुराँस, सूर्या, प्राइम लाइफ इन्स्योरेन्स र निर्जीवनतर्फ एनएलजी, युनाइटेड, प्रुडेन्सियल र लुम्बिनी इन्स्योरेन्स गरी सात कम्पनीलाई एक साताभित्र पुँजी नपुग्नुको कारणसहित उपस्थित हुन निर्देशन दिएको थियो । कम्पनीहरूले कार्ययोजनाअनुसार नै बोनस सेयर र हकप्रदबाट पुँजी वृद्धि गर्ने काम भइरहेको र त्यसका लागि केही समय लागेको स्पष्टीकरण समितिमा बुझाएका थिए । यो समाचार अजाको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस