aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विवाद गरिरहेका सामान्य प्रशासनमन्त्री र सचिव एकसाथ अनुगमनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ साउन २०८०
विवाद गरिरहेका सामान्य प्रशासनमन्त्री र सचिव एकसाथ अनुगमनमा

काठमाडौं । विभिन्न विषयलाई लिएर आपसमा विवाद गरिरहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव डा. कृष्णहरी पुष्कर शुक्रबार एकसाथ अनुगमनमा निस्किएका छन् । मन्त्री मोदी र सचिव पुष्करले सरकारी कर्मचारीहरूलाई तालिम दिइरहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को एकसाथ आकस्मिक निरीक्षण गरेका हुन्‌ ।

शुक्रबार बिहान १० बजे मन्त्री मोदी र सचिव पुष्कर निरीक्षणका लागि स्टाफ कलेज पुगेको मन्त्री र सचिव सम्मिलित अनुगमन टोलीमा सहसचिव कमल भट्टराई पनि सामेल थिए । निरीक्षण क्रममा मन्त्री मोदी र सचिव पुष्करले स्टाफ कलेजको प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रालय साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । 

मन्त्री मोदीले प्रशासनिक तथा व्यवस्थापकीय सुधारको माध्यमबाट सुशासन कायम गर्नका लागि आफूले मन्त्रालय र मातहतका निकायको नियमित अनुगमन गरिरहेको दाबी गरे। ‘मैले पदभार ग्रहण गर्दाखेरि नै सुशासन कायम गर्ने विषय मेरो प्राथमिकतामा छ भनेको थिए, सुशासन कायम गर्ने सिलसिलामा नै हामीले अहिले मन्त्रालय र मातहतको निकायको नियमित अनुगमन गर्दै आएका छौँ,’ मन्त्री मोदीले भने । 

अनुगमनका क्रममा मन्त्री र सचिवले स्टाफ कलेजको निर्माणधीन संरचनाहरू पनि निरीक्षण गरेका थिए । स्टाफ कलेजका कार्यकारी निर्देशक डा. राजन खनालले स्टाफ कलेजबाट भइरहेको काम र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस